Logo

९ पौष, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा दिनदिनै उछाल आएसँगै यसले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका बीच बुधबार सुनको भाउ तोलामा थप ९ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अहिलेसम्मकै उच्च बिन्दु हो । अघिल्लो दिन मात्रै सुनको भाउमा ५ हजार ५ सय रुपैयाँको भारी वृद्धि भएर २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो  ।

सुनको मूल्य वृद्धि भइरहँदा चाँदीले भने वृद्धिको दरमा सुनलाई समेत उछिनेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ४२० रुपैयाँ पुगेको छ  । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो। प्रतिशतका आधारमा हेर्दा सुनको तुलनामा चाँदीको मूल्य वृद्धिदर निकै उच्च देखिएको छ, जसले गर्दा आम उपभोक्ता र लगानीकर्ताहरूमा समेत एक किसिमको अन्योल र आश्चर्य पैदा गरेको छ  ।

पछिल्ला केही दिनदेखि लगातार बढिरहेको मूल्यका कारण आम सर्वसाधारणमा भने चिन्ता थपिएको छ । मूल्य वृद्धिको यो शृङ्खलाले विवाह तथा अन्य चाडपर्वका लागि गरगहना बनाउने योजनामा रहेकाहरूलाई प्रत्यक्ष मारमा पारेको छ  ।  महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव र डलरको मजबुतीका कारण स्थानीय बजारमा समेत त्यसको सिधा असर परेको हो । यसरी दिनदिनै नयाँ रेकर्ड बनाउँदै मूल्य आकाशिएपछि उपभोक्ताहरूमा खुसीभन्दा बढी दुःखी र अचम्मित हुनेहरूको संख्या ठूलो देखिएको छ  ।


सम्बन्धित समाचार