१० पौष, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ चेतनगरस्थित मुसहर बस्तीमा शौचालयको व्यवस्था नहुँदा स्थानीय बासिन्दा आज पनि खुला ठाउँमै शौच गर्न बाध्य छन्। करिब ९० घरधुरी रहेको यस बस्तीको अवस्थाले राज्यले वर्षौंअघि गरेको ‘खुला दिशामुक्त’ घोषणामाथि गम्भीर प्रश्न खडा गरेको छ।
नेपाल सरकारले जनता आवास कार्यक्रमअन्तर्गत यहाँका दलित तथा विपन्न समुदायका लागि पक्की घर निर्माण गरिदिए पनि शौचालयको व्यवस्था नगर्दा समस्या समाधान हुन सकेको छैन। अधिकांश दुई कोठे पक्की घरसँगै अनिवार्य मानिने शौचालय नहुँदा बस्तीवासी वर्षौंदेखि खेतबारीमै शौच गर्न विवश छन्। बस्तीमा एउटै पनि शौचालय नहुँदा महिला, बालबालिका तथा वृद्धवृद्धाले दैनिक जीवनमा गम्भीर कठिनाइ भोग्नुपरेको स्थानीय बताउँछन्।
स्थानीय बासिन्दा चन्द्रदेव माझीले सरकारले घर त बनाइदिएको तर शौचालयको व्यवस्था नगरेको गुनासो गरे। उनका अनुसार करिब नौ वर्षअघि शौचालय निर्माणका लागि रिङ उपलब्ध गराइए पनि पर्याप्त जमिनको अभावका कारण ती प्रयोगमा आउन सकेनन्। बस्तीका अधिकांश परिवार सानो–सानो जमिनमा टहरा बनाएर बसोबास गर्दै आएका छन्। आफ्नै नाममा पर्याप्त जमिन नहुँदा शौचालय निर्माण गर्न नसकिएको उनीहरूको गुनासो छ।
हरिन्दर माझीले गरिब दलित समुदायका लागि पक्की घर निर्माण सकारात्मक कदम भए पनि शौचालय नहुँदा दैनिकी असहज बनेको बताए। “घर छ, तर आधारभूत सुविधा नहुँदा जीवन अझै कष्टकर छ,” उनले भने।
नेपाल सरकारले करिब एक दशकअघि नै रौतहट जिल्लालाई ‘खुला दिशामुक्त जिल्ला’ घोषणा गरेको भए पनि दलित तथा विपन्न बस्तीमा शौचालयको अभावले उक्त घोषणा कागजी मात्र भएको स्थानीयको आरोप छ। खुला दिशाका कारण वातावरणीय प्रदूषण बढ्नुका साथै सरुवा रोगको जोखिम र महिला तथा किशोरीको सुरक्षामा समेत समस्या देखिएको उनीहरूको भनाइ छ।
यस विषयमा चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले शौचालय नबन्नुको मुख्य कारण पर्याप्त जमिनको अभाव रहेको स्वीकार गरे। नगरपालिकाले अब वैकल्पिक उपाय खोज्नुपर्ने आवश्यकता रहेको उनले बताए।
स्थानीय बासिन्दाले सामूहिक शौचालय वा अन्य वैकल्पिक मोडेलमार्फत समस्या समाधान गर्न सरकार र स्थानीय तहसँग आग्रह गरेका छन्। आधारभूत स्वास्थ्य र सरसफाइको अधिकार सुनिश्चित नगरी ‘खुला दिशामुक्त’ अभियान सार्थक नहुने उनीहरूको भनाइ छ।















