१० पुष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आज ललितपुरको कुपण्डोलमा निर्णायक वार्ता हुँदैछ ।
गत सोमबार राति कमलपोखरीमा भएको लामो संवादपछि आजको भेटलाई आगामी निर्वाचनको रणनीतिक सहकार्य र सत्ताको ‘मोडालिटी’ टुङ्ग्याउने अन्तिम कसरतका रूपमा हेरिएको छ । विशेष गरी आगामी चुनावपछि सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दुवै नेताबीच घनीभूत छलफल भइरहेको छ। सोमबारको बैठकमा सभापति लामिछानेले यसपटकको सरकारको नेतृत्व बालेनलाई सुम्पिने र पार्टीको कमान्ड आफूले सम्हाल्ने प्रस्ताव राखेको चर्चा बाहिरिएसँगै आजको वार्ताले त्यसलाई औपचारिक रूप दिने वा नदिने भन्ने कौतुहलता बढेको छ ।
रास्वपा र बालेनको सम्भावित शक्तिबीचको यो सहकार्यमा पालैपालो सरकारको नेतृत्व गर्ने प्रस्तावमाथि पनि संवाद भइरहेको छ । पहिलो कार्यकाल बालेनले सरकार चलाउने र अर्को कार्यकालमा रविले नेतृत्व लिने गरी चुनावी तालमेल गर्ने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन् । यद्यपि, बालेनले पछिल्लो समयमा देखाएको तीव्र राजनीतिक सक्रियताले भने नयाँ तरंग पैदा गरेको छ । उनले बुधबारदेखि नै विभिन्न राजनीतिक शक्ति, जेन(जी अभियन्ता र मन्त्री कुलमान घिसिङलगायतका प्रभावशाली व्यक्तित्वहरूसँग छुट्टाछुट्टै छलफल चलाइरहेका छन् । रविसँगको वार्ताले ठोस निष्कर्ष ननिकालेको खण्डमा बालेनले आफ्नै नेतृत्वमा नयाँ दल गठन गरी अघि बढ्ने तयारीसमेत गरिरहेको उनी निकट स्रोतको दाबी छ ।
नयाँ र वैकल्पिक शक्तिहरूबीचको यो सम्भावित मोर्चाबन्दीले पुराना राजनीतिक दलहरूलाई ठूलो चुनौती दिने विश्लेषण गर्न थालिएको छ । बालेन र रवि दुवैले युवा पुस्ताको भावनालाई प्रतिनिधित्व गर्ने हुनाले उनीहरूबीचको एकताले चुनावी परिणाममा उल्लेख्य हेरफेर ल्याउन सक्ने देखिएको छ । आज कुपण्डोलमा हुने वार्ताले बालेन आफ्नै नयाँ दलसहित मैदानमा उत्रिन्छन् वा रास्वपासँगको बलियो गठबन्धनमा सामेल हुन्छन् भन्ने विषयको निक्र्योल गर्नेछ । दुवै नेताका समर्थकहरूले यस वार्तालाई नेपालको आगामी राजनीतिक दिशा तय गर्ने एउटा महत्त्वपूर्ण मोडका रूपमा प्रतीक्षा गरिरहेका छन् ।















