१० पुष, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय चर्चामा रहेका युवा नेतृत्वको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै युवा पुस्तालाई दुर्व्यसनबाट टाढा रहन आग्रह गर्नुभएको छ ।
बिहीबार काठमाडौँमा आयोजित पार्टीको स्वयंसेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नाम उल्लेख नगरे पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेनं) तर्फ लक्षित गर्दै चर्चित भनिएका मानिसहरू नै नसामा उत्रिएको आरोप लगाउनुभयो। ‘देशका चर्चित भनेका मान्छे नसामा उत्रिन्छन्, उनीहरूलाई चर्चित बनाउनेहरू पनि नसामा हुन्छन्,’ भन्दै ओलीले एमालेका युवाहरू भने त्यस्तो कुनै पनि प्रकारको दुर्व्यसनमा नरहेको दाबी गर्नुभयो ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले युवाहरूलाई आफ्नो स्वास्थ्य र भविष्यप्रति सचेत रहन सुझाव दिँदै नसा सेवन गर्ने बानी भए त्यसलाई तत्काल त्याग्न आग्रह गर्नुभयो । उहाँले आफ्नो भनाइलाई सकारात्मक ुईखु का रूपमा लिएर कसैले नसा छोड्छ भने आफू सबैभन्दा बढी खुसी हुने समेत बताउनुभयो । युवा पुस्तामा बढ्दै गएको दुर्व्यसनको प्रवृत्तिले समाजलाई गलत बाटोमा लैजाने भएकाले राजनीतिक र सामाजिक रूपमा सक्रिय युवाहरू उदाहरण बन्नुपर्नेमा उहाँको जोड थियो ।
यसैगरी, ओलीले एमालेका स्वयंसेवकहरूलाई कार्यस्थलमा रहँदा व्यावसायिक र निष्पक्ष भएर काम गर्न निर्देशन दिनुभएको छ । स्वयंसेवकका रूपमा सेवा गरिरहेको समयमा पार्टीको प्रचारबाजी नगर्न र केवल मानवीय सेवामा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो ।
मेयर बालेन शाहसँग विभिन्न विषयमा राजनीतिक र कानुनी टकराव परिरहेका बेला ओलीको यो नसा सम्बन्धी टिप्पणीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ, जसले वैकल्पिक शक्ति र पुराना दलबीचको वैचारिक द्वन्द्वलाई थप सतहमा ल्याएको छ।















