Logo

१० पुष, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बिहीबार बिहान महत्वपूर्ण भेटवार्ता भएको छ ।

ललितपुरमा भएको उक्त ‘वान टु वान’ छलफलमा आगामी निर्वाचनमा हुनसक्ने सम्भावित सहकार्य र सत्ताको (पावर शेयरिङ) का विषयमा प्याकेजमै सहमति जुटाउने कसरत गरिएको छ । दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिरहेका बेला भएको यस भेटलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष गरी बालेनले आफूलाई प्रधानमन्त्रीको मुख्य दाबेदार बनाउनुपर्ने अडान राखिरहेका छन् भने मन्त्री घिसिङले पनि आफूलाई सोही पदको प्रोजेक्सन गरिरहेका कारण दुई शक्तिबीचको तालमेलमा नेतृत्वको प्रश्न पेचिलो बनेको छ ।

निर्वाचनका लागि विभिन्न सरोकारवाला र नयाँ शक्तिहरूसँग संवाद गरिरहेका यी दुई प्रभावशाली व्यक्तित्वबीचको वार्तामा प्याकेजमै सहमति खोज्ने प्रयास भए पनि ठोस निष्कर्ष भने निस्कन सकेको छैन । कुलमान निकट स्रोतका अनुसार बालेनसँगको छलफल सकारात्मक दिशामा अघि बढेको र विभिन्न विकल्पमाथि गृहकार्य भइरहेको छ । गत मंसिर १४ गतेपछि दोस्रो पटक भएको यो भेटघाटले वैकल्पिक राजनीतिको नयाँ ध्रुवीकरणको सङ्केत गरेको छ । दुवै नेताले आआफ्नो लोकप्रियता र कार्यक्षमतालाई चुनावी मुद्दा बनाउने तयारी गरिरहेका बेला नेतृत्वको बाडफाँट नै सहकार्यको मुख्य कडी बन्ने देखिएको छ ।

मन्त्री घिसिङसँगको गहन छलफल लगत्तै मेयर बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटवार्तालाई निरन्तरता दिएका छन् । एकै दिन दुई ठूला राजनीतिक शक्तिसँग बालेनले गरिरहेको यो निर्णायक संवादले उनी आफ्नै नेतृत्वमा नयाँ दल निर्माण गर्ने वा रास्वपा र कुलमान पक्षधर शक्तिसँग वृहत् मोर्चाबन्दी गर्ने भन्ने अन्तिम तयारीमा रहेको प्रस्ट पारेको छ ।

चुनाव आउन दुई महिना मात्र बाँकी रहँदा यी नयाँ र उदयमान शक्तिहरूबीचको ‘पावर शेयरिङ’ ले पुराना राजनीतिक दलहरूलाई कस्तो चुनौती दिने हो भन्ने विषय अबको केही दिनमा हुने थप वार्ताहरूले तय गर्नेछ ।


सम्बन्धित समाचार
भर्खरै