१० पुष, काठमाडौं । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएकी छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को निर्वाचन क्षेत्र समन्वय समितिको जगतपुरमा बसेको बैठकले दाहालको नाम निर्विरोध रूपमा केन्द्रमा पठाउने निर्णय गरेको हो । झन्डै ९ वर्षदेखि भरतपुर महानगरको नेतृत्व सम्हालिरहेकी दाहालले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै राजीनामा दिएर संघीय निर्वाचनमा होमिने तयारी गरेकी हुन् । यो सिफारिससँगै चितवनको राजनीतिमा नयाँ चुनावी सरगर्मी बढेको छ भने दाहालले स्थानीय तहको अनुभवलाई अब राष्ट्रिय राजनीतिमा उपयोग गर्ने संकल्प व्यक्त गरेकी छन् ।
सिफारिस बैठकमा आफैँ उपस्थित भएकी दाहालले भरतपुर र माडी क्षेत्रका जनताको अपार माया र विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताइन्। विगतमा काठमाडौँमा उम्मेदवार बन्दा बेहोरेको पराजय र संघर्षपूर्ण राजनीतिक यात्राको स्मरण गर्दै उनले चितवनका जनताले आफ्नो विकासप्रेमी छविलाई अनुमोदन गर्ने विश्वास व्यक्त गरिन् । आफ्नो सिंगो जीवन जनताको सेवामा समर्पित गरेको उल्लेख गर्दै उनले महानगरमा गरेको कामको जगमा उभिएर संसद्मा सशक्त उपस्थिति जनाउने दाबी समेत गरिन् । उनले अबको यात्रा विकास र समृद्धिकै एजेन्डामा केन्द्रित हुने प्रस्ट पारेकी छन् ।
ऐतिहासिक रूपमा चितवन–३ दाहाल परिवारका लागि विशेष निर्वाचन क्षेत्र मानिन्छ, जहाँबाट २०७४ सालको निर्वाचनमा उनका पिता पुष्पकमल दाहाल प्रचण्डले जित हासिल गरेका थिए । यद्यपि, २०७९ को निर्वाचनमा यो क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार राप्रपाका विक्रम पाण्डेसँग पराजित भएका थिए। यसपटक रेनु दाहाल आफैँ मैदानमा उत्रिने भएपछि यो क्षेत्रको चुनावी समीकरण थप रोचक हुने देखिएको छ।
महानगरका १९ वटा वडा र माडी नगरपालिका समेटिएको यस निर्वाचन क्षेत्रमा आफ्नो बलियो पकड रहेको दाबी गर्दै नेकपाले रेनुलाई साझा र प्रभावशाली उम्मेदवारका रूपमा अघि सारेको हो।















