१० पुष, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ ।
सिन्धुपाल्चोकको खाडीचौरमा शुक्रबार बसेको पार्टीको १ नम्बर क्षेत्रीय समितिको बैठकले निवर्तमान सांसद माधव सापकोटा ुसुबोधु को नाम एकल रूपमा सिफारिस गरेको छ । विघटित प्रतिनिधिसभामा सोही क्षेत्रबाट निर्वाचित सापकोटालाई पार्टीले पुनः सर्वसम्मत रूपमा मैदानमा उतार्ने निर्णय गरेसँगै १ नम्बर क्षेत्रमा उनको चुनावी माहोल थप तातेको छ । अघिल्लो निर्वाचनमा प्रभावशाली जित दर्ता गरेका सापकोटाको लोकप्रियता र विकासप्रेमी छविलाई मध्यनजर गर्दै क्षेत्रीय समितिले अन्य नाम समावेश नगरी उनको नाम मात्रै केन्द्रमा पठाएको हो ।
यसैगरी, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाले बागमती प्रदेशसभाका बहालवाला सदस्य युवराज दुलाल शरदलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको छ। प्रदेशको राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गरिसकेका दुलाललाई यसपटक संघमा पठाउने गरी पार्टीले उम्मेदवार सिफारिस गरेको हो । दुलालको सिफारिससँगै क्षेत्र नम्बर २ मा पनि चुनावी सरगर्मी बढेको छ भने स्थानीय कार्यकर्ताहरूमा उत्साह देखिएको छ । नेकपाले प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारहरूको समेत नाम छनोट गरी सिफारिस प्रक्रियालाई अघि बढाएको छ ।
जिल्लाका दुवै क्षेत्रमा प्रभावशाली र स्थापित नेताहरूलाई उम्मेदवार बनाउने निर्णयले नेकपाले सिन्धुपाल्चोकमा आफ्नो विरासत जोगाउने रणनीति लिएको प्रस्ट देखिन्छ । १ नम्बर क्षेत्रमा सापकोटाको निरन्तरता र २ नम्बर क्षेत्रमा दुलालको ुअपग्रेडु ले विपक्षी दलहरूलाई कडा चुनौती दिने विश्लेषण गरिएको छ । दुवै क्षेत्रबाट सिफारिस भएका यी नामहरूलाई अब जिल्ला र प्रदेश कमिटी हुँदै अन्तिम स्वीकृतिका लागि केन्द्रीय कमिटीमा पठाइनेछ । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा नेकपाको यो उम्मेदवार छनोट प्रक्रियाले जिल्लाभर चुनावी गतिविधिमा तीव्रता ल्याएको छ ।















