Logo

१० पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अस्थिर राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाललाई बंगलादेशको नियति भोग्नबाट जोगाउनुपर्ने बताएकी छिन् ।

बिहीबार काठमाडौँमा आयोजित बाह्रखरी कथा प्रतियोगिताको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको तरल राजनीतिक परिस्थितिमा आफ्नो नेतृत्वको अन्तरिम सरकार ‘अचानो’ जस्तो बनेको टिप्पणी गरिन् । सबैतिरबाट सरकारको राजीनामा माग्ने र गालीगलौज गर्ने प्रवृत्ति बढेको भन्दै उनले राजनीतिक दल र सडकमा उत्रिएका युवा समूहहरूको दबाबका बीच पनि मुलुकलाई संवैधानिक संकटबाट बचाउन आफूहरू लागिपरेको दाबी गरिन्। विशेष गरी बंगलादेशमा हालै भएको राजनीतिक उथलपुथल जस्तो अवस्था नेपालमा आउन नदिन सरकारले धैर्यताका साथ काम गरिरहेको उनको भनाइ थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले नयाँ पुस्ता (जेन–जी) का विभिन्न समूहहरू र राजनीतिक दलहरूले दिनदिनै सरकार छाड्न दबाब दिइरहेको भन्दै आफ्नो दिग्दारी समेत प्रकट गरिन्। ‘हामी त पेण्डुलम जस्तो भयौँ, दलहरूले पनि गाली गर्छन् र २५–३० वटा जेनजी समूहहरूले पनि आजै छोड, भोलि छोड भन्छन्,’ उनले गुनासो गरिन् ।

प्रधानमन्त्रीले आफूहरू चौतर्फी प्रहारका बीच पनि संयमित भएर बसेको र मुलुकलाई निकास दिनु नै आफ्नो एकमात्र लक्ष्य रहेको स्पष्ट पारिन् । सबैतिरबाट गाली आउँदा कतै जाँदा पनि सुख नहुने अवस्था सिर्जना भएको बताउँदै उनले अहिलेको सकसपूर्ण घडीमा सबै पक्षले जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिइन् ।
सरकार छाड्ने र समात्ने बीचको द्वन्द्वमा मुलुकको शान्ति सुरक्षा र प्रजातान्त्रिक अभ्यास नै धरापमा पर्न सक्ने जोखिम औँल्याउँदै प्रधानमन्त्री कार्कीले बंगलादेशको जस्तो सडक विद्रोह र अस्थिरता नेपालमा नदोहोरियोस् भन्नेमा आफू सचेत रहेको र सोहीअनुसार कार्यसम्पादन गरिरहेको बताइन् ।


सम्बन्धित समाचार
भर्खरै