११ पुष, काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा एक बैंकले अर्को बैंकसँग गर्ने सापटी अर्थात् अन्तर–बैंक कारोबारमा उल्लेख्य गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा वाणिज्य बैंकहरूको यस्तो कारोबारमा भारी संकुचन देखिएको हो । यस अवधिमा वाणिज्य बैंकहरूले २ खर्ब ८८ अर्ब ९१ करोड रुपैयाँको मात्रै अन्तर–बैंक कारोबार गरेका छन्, जबकि अन्य वित्तीय संस्थाहरूको ६५ अर्ब २४ करोडसहित कुल कारोबार ३ खर्ब ५४ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा यो गिरावट निकै ठूलो देखिएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरूले ४ खर्ब ७० अर्ब ३० करोड रुपैयाँको कारोबार गरेका थिए भने अन्य वित्तीय संस्थाहरूको ६१ अर्ब ८० करोडसहित कुल अन्तर–बैंक कारोबार ५ खर्ब ३२ अर्ब १० करोड रुपैयाँ पुगेको थियो । गत वर्षको तुलनामा यो वर्ष वाणिज्य बैंकहरूको मात्रै कारोबार करिब १ खर्ब ८२ अर्ब रुपैयाँले घटेको देखिन्छ ।
बैंकिङ क्षेत्रमा तरलता (लगानीयोग्य रकम) को अवस्था सहज हुँदा वा बैंकहरूबीच कोषको आवश्यकता कम हुँदा यस्तो कारोबार घट्ने गर्दछ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकहरूबीचको आपसी निर्भरतामा देखिएको यो कमीले वित्तीय बजारको तरलता र ब्याजदरको प्रवृत्तिमा आएको फेरबदललाई संकेत गरेको छ।















