Logo

११ पुष, काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट कारबाहीमा परेका डा. मित्र परियार अन्ततः मूलधारको राजनीतिमा समाहित भएका छन् ।

पार्टीको उपाध्यक्ष पदबाट निलम्बित भएका परियारले शुक्रबार बिहानै ललितपुरको हात्तीवनस्थित निवास पुगेर नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका र खादा लगाएर पार्टी प्रवेश गरेका हुन् । साम्पाङसँगको सम्बन्धमा दरार आएपछि परियारले आफ्नो राजनीतिक भविष्यका लागि प्रचण्ड नेतृत्वको नेकपा रोजेका हुन् ।

परियारको यो राजनीतिक छलाङ केही दिनअघि बुटवलमा घटेको एउटा विवादित घटनाको नतिजा मानिएको छ । बुटवलमा आयोजित एक सभामा परियारले अभद्र शैलीमा अभिव्यक्ति दिएको र जिल्ला सहसंयोजक केशव न्यौपानेलाई अपमानजनक शब्दले गालीगलौज गरेको आरोप लागेको थियो । सोही घटनालाई लिएर पार्टी अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लंघन गरेको भन्दै उनलाई उपाध्यक्ष पदबाट निलम्बन गरेका थिए । कारबाहीले पार्टीभित्रको आन्तरिक कलह सतहमा आएकै बेला परियारले प्रचण्डसँगको निकटता बढाएर नयाँ राजनीतिक यात्रा सुरु गरेका हुन् ।

यो प्रवेशलाई राजनीतिक वृत्तमा हर्क साम्पाङको साना दलहरूमा देखिएको अस्थिरता र ठूला दलहरूको पकड विस्तारको रूपमा हेरिएको छ । साम्पाङको कडा अनुशासन र कारबाहीका कारण बाहिरिएका प्रभावशाली व्यक्तिलाई प्रचण्डले तत्कालै आफ्नो पार्टीमा भित्र्याउनुले आगामी निर्वाचनको रणनीतिका रूपमा पनि अर्थ्याइएको छ । यसअघि श्रम संस्कृति पार्टीमा रहेर आफ्नो छुट्टै पहिचान बनाउन खोजेका परियार अब नेकपाको संगठनात्मक संरचनामा कस्तो भूमिकामा रहन्छन् भन्ने विषयले आगामी दिनमा थप चर्चा पाउने देखिन्छ ।


सम्बन्धित समाचार