Logo

१० पुष, काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले मुलुकको नयाँ परराष्ट्रमन्त्रीका रूपमा आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा र कूटनीतिमा दख्खल राख्ने अनुभवी व्यक्तित्वलाई मन्त्रिपरिषद्मा भित्र्याउने योजना अनुसार शर्मालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, मन्त्रीगण तथा उच्चपदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो । यसअघि प्रधानमन्त्री कार्की आफैँले सम्हाल्दै आउनुभएको यो मन्त्रालयमा शर्माको नियुक्तिलाई कूटनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी सेना समायोजन र शान्ति प्रक्रियामा सफल भूमिका निर्वाह गरिसक्नुभएका शर्माले अब नेपालको परराष्ट्र नीतिलाई कसरी अगाडि बढाउनुहुन्छ भन्नेमा सबैको चासो देखिएको छ ।

पूर्वरथी शर्माले आजै पदभार ग्रहण गरी आफ्नो जिम्मेवारी सम्हाल्ने तयारी गर्नुभएको छ । सरकारले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा मन्त्रिपरिषद् विस्तार गर्दै शर्मालाई मन्त्री बनाएको हो । उहाँको अनुभवले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र छिमेकी मुलुकहरूसँगको कूटनीतिक संवादलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने सरकारको विश्वास छ ।


सम्बन्धित समाचार