Logo

११ पुस, वीरगञ्ज । पर्साको कम्युनिस्ट राजनीतिमा फेरि एकपटक हलचल मच्चिएको छ। दोस्रो संविधानसभाका सदस्य तथा नेकपा ९एमाले० पर्साका पूर्व अध्यक्ष जयप्रकाश थारु लामो राजनीतिक यात्रापछि एमाले परित्याग गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा प्रवेश गर्ने भएका छन्।

थारुका लागि यो निर्णय केवल पार्टी परिवर्तन होइन, आफ्नो राजनीतिक भविष्य र पहिचान पुनः परिभाषित गर्ने प्रयासका रूपमा हेरिएको छ। पार्टी नेतृत्वप्रति बढ्दो असन्तुष्टि, पटक–पटकको निर्वाचन पराजय र अवसरबाट वञ्चित भएको अनुभूतिले उनलाई एमाले छोड्ने बिन्दुमा पुर्‍याएको निकट स्रोतहरू बताउँछन्।

जयप्रकाश थारु एमालेभित्र लामो समय प्रभावशाली नेताका रूपमा चिनिन्थे। पर्सा जिल्लाको संगठन निर्माणदेखि चुनावी मोर्चासम्म सक्रिय भूमिका खेलेका उनी एमाले पर्साका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन्।

तर पछिल्ला वर्षहरूमा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन, नेतृत्वको व्यवहार र टिकट वितरण प्रक्रियाले उनलाई क्रमशः किनारामा धकेलिएको महसुस गरायो। दोस्रो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका रमेश रिजाललाई पराजित गर्दै विजयी भएका थारु त्यसपछि भने लगातार पराजयको चक्रमा परे।

प्रदेशसभा निर्वाचनमा पर्सा ४(१) बाट उम्मेदवार बनेका थारु दुवै निर्वाचनमा नेपाली काँग्रेसका शङ्कर चौधरीसँग पराजित भए। निकट नेताहरूका अनुसार पार्टीले उनको राजनीतिक योगदानको उचित मूल्यांकन नगरेको गुनासो उनीभित्र लामो समयदेखि थियो।

थारु निकट स्रोतका अनुसार, आगामी प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट टिकट सुनिश्चित हुने आश्वासनपछि उनले नेकपामा प्रवेश गर्ने निर्णय गरेका हुन्। “यसपटक केवल आश्वासन होइन, राजनीतिक भूमिकाको सुनिश्चिततासहित प्रवेश गर्न लागिएको हो,” स्रोतले भन्यो।

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजना हुने विशेष समारोहमा थारुसहित पर्सा क्षेत्र नम्बर ४ का सयौँ नेता तथा कार्यकर्ता औपचारिक रूपमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ। यो प्रवेशलाई नेकपाले मधेस प्रदेशमा आफ्नो संगठन विस्तार गर्ने रणनीतिक कदमका रूपमा लिएको देखिन्छ।

थारुको प्रवेशले पर्सा जिल्लाको कम्युनिस्ट राजनीति नयाँ चरणमा प्रवेश गर्ने विश्लेषण हुन थालेको छ। पछिल्लो समय एमालेबाट असन्तुष्ट नेता–कार्यकर्ताहरू क्रमशः नेकपातर्फ आकर्षित भइरहेका छन्।

यसअघि पनि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्व मधेस प्रदेशसभा सदस्य प्रह्लाद गिरी, बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योती चौरसियासहित सयौँ नेता तथा कार्यकर्ता एमाले छोडेर नेकपा प्रवेश गरिसकेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, यस्ता प्रवेशहरूले एमालेको सांगठनिक संरचनामा कमजोर संकेत पठाइरहेको छ भने नेकपाले मधेसमा पुनः आधार विस्तार गर्ने मौका पाएको छ।

जयप्रकाश थारुका लागि यो पार्टी परिवर्तन राजनीतिक पुनरागमनको अवसर पनि हुन सक्छ, जोखिमपूर्ण जुवा पनि। टिकटको आश्वासन व्यवहारमा परिणत हुन्छ कि हुँदैन, र पर्सा ४ मा उनको जनाधार कति पुनर्जीवित हुन्छ—यी सबै प्रश्नको उत्तर आगामी निर्वाचनले दिनेछ। थारुको प्रवेशसँगै पर्साको कम्युनिस्ट राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ, जसको असर एमाले, नेकपा र समग्र मधेसको राजनीतिक समीकरणमा पर्नेछ।


सम्बन्धित समाचार
भर्खरै