Logo

१३ पौष, चितवन । सौराहाको बाघमारा चौर शनिबार दिउँसो फरक दृश्यले भरियो । हजारौँ दर्शकको नजर एउटै मञ्चतर्फ केन्द्रित थियो । जहाँ आकर्षक सजावटसहित हात्ती सुन्दरी प्रतियोगितामा सहभागी हात्तीहरूले क्याटवाक गरिरहेका थिए । यही भीडबीच ल्यान्डमार्क होटल पोखराको प्रतिनिधित्व गर्दै सहभागी भएकी हात्ती ‘पुनमकली’ ले यस वर्षको हात्ती सुन्दरीको उपाधि जित्न सफल भइन् ।

शरीरभरि फूलबुट्टाले सजिएकी, पिठ्युँमा नेपालको झण्डा अङ्कित रातो वस्त्र ओढेकी पुनमकली मञ्चमा उत्रिँदा दर्शकदीर्घाबाट ताली र हुटिङ गुञ्जिएको थियो। ४० वर्षीया पुनमकलीले गत वर्ष दोस्रो स्थानमा सीमित भएपछि यसपटक उत्कृष्ट प्रदर्शन गर्दै चार प्रतिस्पर्धीलाई पछि पारिन् ।

उपाधि घोषणा भएसँगै माहुते महबुब धुनियाले पुनमकलीलाई मञ्च वरिपरि क्याटवाक गराए । फेसन शोझैँ देखिएको उक्त दृश्यले दर्शकलाई थप रोमाञ्चित बनायो। प्रतियोगिताको निर्णायकमा नगेन्द्र चापागाईं, डा. अमिर सडौला र सरस्वती पौडेल थिए। हात्तीको अनुशासन, व्यवहार, सजावट र माहुतेसँगको तालमेलका आधारमा मूल्याङ्कन गरिएको निर्णायक चापागाईंले जानकारी दिए ।

प्रतियोगितामा गौतम होटल बर्दिबासको ‘सेल्फिकली’ दोस्रो र हेरिटेज टुर्स एन्ड ट्राभलको ‘चम्पाकली’ तेस्रो भइन्। ‘पूजाकली’ र ‘सम्वृद्धिकली’ क्रमशः चौथो र पाँचौँ स्थानमा सीमित भए। विजेतालाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने हात्ती प्रतियोगिता संयोजक विनोद तिमिल्सिनाले बताए ।

महोत्सवअन्तर्गत हात्तीको स्वास्थ्यलाई प्राथमिकता दिँदै शनिबार विशेष स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। शिविरमा हात्तीलाई जुका नाशक औषधि, पाचन शक्ति बढाउने औषधि खुवाउनुका साथै नङ सफा र मिलाउने कार्य गरिएको थियो ।

यसैबीच महोत्सवको अर्को आकर्षणका रूपमा डुंगा दौड प्रतियोगिता पनि सम्पन्न भएको छ। प्रतियोगितामा आइत तामाङले चलाएको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको डुंगा प्रथम, राहुल चौधरीले चलाएको रत्ननगर नगरपालिकाको डुंगा द्वितीय र सन्तोष बोटेले चलाएको बाघमारा मध्यवर्ती सामुदायिक वनको डुंगा तृतीय भएको छ। प्रतियोगितामा छ वटा डुंगाको सहभागिता थियो ।

महोत्सवअन्तर्गत जारी फुटबल पेनाल्टी सुट प्रतियोगितामा शनिबार दुई चरणका खेल सम्पन्न भएका छन् । सौराहा जिप तथा डुंगा सेन्टरको ‘मारुतीकली’ पहिलो, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको ‘चम्पाकली’ दोस्रो र कसरा पर्यटन व्यवसायी समितिको ‘लक्ष्मीकली’ तेस्रो स्थानमा रहेका छन् । आइतबार हुने फाइनल खेलपछि विजेता टुंगो लाग्नेछ ।

क्षेत्रीय होटल संघ नेपाल, चितवन–सौराहाको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह-आयोजनामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आइतबार समापन हुँदैछ । अन्तिम दिन हात्तीको वनभोज र फुटबल पेनाल्टी सुटआउटको फाइनल खेल मुख्य आकर्षण रहने क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले जानकारी दिए । यस वर्षको महोत्सवमा ८० वटा हात्ती सहभागी गराइएका छन् ।


सम्बन्धित समाचार