१३ पौष, काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरू समानुपातिकतर्फको बन्द सूची तयार गर्न तीव्र रूपमा जुटेका छन् । आज र भोलिभित्र निर्वाचन आयोगमा सूची बुझाउनुपर्ने समयसीमाका कारण प्रमुख दलहरू आन्तरिक छलफल र बैठकमा व्यस्त देखिएका छन् ।
नेपाली कांग्रेसले उम्मेदवार छनोट प्रक्रियालाई अन्तिम रूप दिन आज पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने बताइएको छ। कांग्रेसले पुसको पहिलो हप्ताभित्रै सबै जिल्लाबाट उम्मेदवार सिफारिस गरिसकेको छ ।
हिजो बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उम्मेदवार छनोटका लागि आवश्यक मापदण्ड तय गरी प्रक्रिया अघि बढाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकमा महाधिवेशनको कार्यतालिकाबारे सामान्य छलफल भए पनि आज र भोलि मुख्य रूपमा समानुपातिक उम्मेदवार छनोटमै केन्द्रित हुने छ ।
यसपटक कांग्रेसले अघिल्ला निर्वाचनझैँ छुट्टै संसदीय समिति नबनाई केन्द्रीय कार्यसम्पादन समितिमार्फत नै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ ।
उता, नेकपा एमालेले पनि आज सचिवालय बैठक बोलाएको छ । बिहान ११ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा निर्वाचनको तयारी र समानुपातिक उम्मेदवार चयनबारे छलफल हुने एमाले सचिव राजन भट्टराईले बताए ।
यद्यपि निर्वाचनमा जाने विषयमा औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन, एमाले भित्रि तयारीमा जुटेको छ । हिजो प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय छलफलमा सहभागी भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचन प्रक्रियाबाट नभाग्ने स्पष्ट पार्दै निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षाको वातावरण बनाउने जिम्मेवारी सरकारको भएको कुरा उठाएका थिए ।
निर्वाचन आयोगमा बन्द सूची बुझाउने समयसीमा नजिकिँदै जाँदा अन्य दलहरू पनि समानुपातिक उम्मेदवार छनोटमा अन्तिम गृहकार्यमा जुटिरहेका छन् ।















