Logo

१३ पुष, काठमार्डौ, नयाँ दिल्ली । स्लोभाकियामा रोजगारीका लागि वैध रूपमा भिसा प्राप्त गरिसकेका दर्जनौं नेपाली कामदारहरू भारतको नयाँ दिल्लीमा अलपत्र परेका छन्। भिसा प्रक्रिया पूरा भइसकेको अवस्थामा पनि मानव तस्करीमा संलग्न जिम्जो जोसेप नेतृत्वको गिरोहले उनीहरूको पासपोर्ट नियन्त्रणमा राखी फिर्ता नदिँदा कामदारहरू समस्यामा परेका हुन्।

पीडित कामदारहरूका अनुसार, स्लोभाकिया जान आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्दै भिसा आवेदनका क्रममा बुझाउनुपर्ने सबै शुल्क उनीहरूले समयमै भुक्तानी गरिसकेका थिए। तर भिसा जारी भइसकेपछि पनि सम्बन्धित मेनपावर कम्पनीमार्फत पासपोर्ट फिर्ता नदिइँदा उनीहरूको तय भएको उडान नै रद्द भएको छ।

कामदारहरूले पासपोर्ट जस्तो संवेदनशील व्यक्तिगत कागजात निजी व्यक्ति वा कम्पनीले नियन्त्रणमा राख्नु गैरकानुनी र श्रमिक अधिकारविपरीत भएको आरोप लगाएका छन्। पासपोर्ट नपाउँदा उनीहरू स्वदेश फर्कनसमेत असमर्थ भएका छन् भने हाल नयाँ दिल्लीमा बसोबास, खानपान र व्यक्तिगत सुरक्षाको गम्भीर संकटमा छन्।

स्रोतका अनुसार जोसेप गिरोहले तोकिएको वैधानिक लागतभन्दा अलग्गै प्रत्येक कामदारबाट थप ५ सय युरो असुल्दै आएको देखिएको छ। यही गिरोहले चितवन जिल्लाबाट मात्र २ सयभन्दा बढी नेपालीलाई स्लोभाकिया पुर्‍याएको र उनीहरू मध्ये धेरैलाई विभिन्न चरणमा अलपत्र पारेको पीडितहरूको दाबी छ।

जोसेप गिरोहकै चितवनस्थित एजेन्ट नवराज भनेर चिनिने नरबहादुर क्षेत्री हाल फरार रहेका छन्। उनी सञ्चालन गर्दै आएको भनिएको कार्यालयमा तालाबन्दी जस्तै अवस्था छ र उनी त्यहाँ भेटिँदैनन्। प्रहरी स्रोतका अनुसार क्षेत्रीमाथि निगरानी राखिएको छ भने घटनासम्बन्धी उजुरी वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार बोर्डमा दर्ता भइसकेको छ।

मानव तस्करीमा संलग्न जिम्जो जोसेप नेतृत्वको गिरोहको गतिविधि पछिल्ला घटनासँगै मात्र सुरु भएको होइन। स्रोत र पीडितहरूको बयान अनुसार यो गिरोहले पछिल्ला केही वर्षदेखि वैध वैदेशिक रोजगारीको आवरणमा संगठित रूपमा नेपाली कामदारहरूलाई युरोप पुर्‍याउने, अलपत्र पार्ने र आर्थिक शोषण गर्ने काम गर्दै आएको देखिन्छ।

जोसेप गिरोहको मुख्य आधार चितवन देखिन्छ। यहाँबाट नवराज भनेर चिनिने नरबहादुर क्षेत्रीमार्फत कामदार संकलन हुने गरेको पीडितहरूको भनाइ छ। क्षेत्री स्थानीय स्तरमा ‘विश्वसनीय एजेन्ट’को रूपमा चिनिन्थे र उनले स्लोभाकिया, क्रोएसिया, रोमानिया जस्ता युरोपेली मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर युवाहरू भेला गर्ने गर्थे।

चितवनसँगै काठमाडौं, नवलपुर, बारा, पर्सा र मकवानपुरसम्म यो गिरोहको एजेन्ट नेटवर्क फैलिएको देखिएको छ। प्रत्येक जिल्लामा स्थानीय ‘कन्ट्याक्ट पर्सन’ राखी कामदार पठाउने संरचना बनाइएको थियो।

जोसेप गिरोहको मुख्य ‘वर्किङ मोडल’ भारतको नयाँ दिल्लीलाई ट्रान्जिट हब बनाउनु हो। नेपाली कामदारलाई काठमाडौं–दिल्ली पुर्‍याइन्छ, त्यसपछि युरोपेली दूतावासमा भिसा प्रक्रिया पूरा गरिन्छ। यही चरणमा कामदारका पासपोर्ट गिरोहको नियन्त्रणमा जाने गरेको छ।

भिसा जारी भएपछि पनि पासपोर्ट नदिने, थप रकम माग्ने, उडान रोक्ने र अन्ततः कामदारलाई दिल्लीमै अलपत्र पार्ने शैली यस गिरोहको अघिल्लो घटनाहरूमा पनि दोहोरिएको पीडितहरू बताउँछन्।

मानव तस्करी, अवैध शुल्क असुली र श्रमिकलाई विदेशमा अलपत्र पार्ने यो प्रकरणमा मुख्य आरोपी जिम्जो जोसेफ, नरवहादुर क्षेत्री, प्रकाश राजवंशी, राजु तिमिल्सीना, अखिल जोशीको संलग्नता रहेको श्रोतको भनाई छ । यस घटनामा संलग्न गिरोहविरुद्ध कडा अनुसन्धान र तत्काल अलपत्र परेका श्रमिकको उद्धार गर्नुपर्ने पीडित पक्षका परिवारजनले माग गरेका छन ।


सम्बन्धित समाचार