Logo

१४ पौष, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच फ्लोरिडामा भएको भेटवार्ताले करिब चार वर्षदेखि जारी रुस-युक्रेन युद्धको शान्तिप्रक्रियामा महत्वपूर्ण प्रगति भएको संकेत दिएको छ ।

मार ए लागोमा सम्पन्न छलफलपछि दुवै नेताले वार्तालाई ‘महान्’ बताउँदै सकारात्मक मूल्याङ्कन गरे । तर, जमिनको स्वामित्व र सीमा विवाद अझै चुनौतीपूर्ण रहेको स्वीकार गरिएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले २० बुँदे शान्ति योजनाका ९० प्रतिशत विषयमा सहमति जुटेको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पका अनुसार युक्रेनको लागि सुरक्षा ग्यारेन्टीको विषय ९५ प्रतिशत टुङ्गिसकेको छ । यद्यपि रुसको नियन्त्रणमा रहेको डोन्बास क्षेत्रलाई असैन्यीकृत क्षेत्र बनाउने प्रस्तावमा अझै सहमति हुन बाँकी रहेको उनले बताए । हाल रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ, जसमा डोनेट्स्क र लुहान्स्क क्षेत्रको ठूलो हिस्सा पर्दछ ।

ट्रम्पले जमिनको मुद्दा जटिल भएको र आगामी केही महिनामा यसले कुन मोड लिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने उल्लेख गर्दै उचित समय आएमा अमेरिका, रुस र युक्रेनबीच त्रिपक्षीय वार्ता हुन सक्ने सम्भावना खुला राखेका छन् ।

भेटवार्तापछि जेलेन्स्कीले रुसी आक्रमणबाट युक्रेनलाई सुरक्षित राख्न ‘चट्टानी सुरक्षा प्रत्याभूति’ आवश्यक रहेकोमा जोड दिए । युक्रेनी टोली अर्को हप्ता फेरि अमेरिका पुगेर वार्तामा सहभागी हुने तयारीमा रहेको छ ।

ट्रम्पले यो वार्ता सकारात्मक रूपमा अघि बढे युद्ध अन्त्य हुने विश्वास व्यक्त गरे। यद्यपि, वार्ता विफल भए युद्ध अझ लम्बिन सक्ने चेतावनी पनि दिएका छन् । युरोपेली युनियनकी अध्यक्ष उर्सुला भोन डिर लेयनले पनि फ्लोरिडा वार्ताको प्रगतिको स्वागत गर्दै युक्रेनले सुरुवातमै बलियो सुरक्षा ग्यारेन्टी पाउनु पर्ने माग गरेकी छन् ।

फ्लोरिडा भेटभन्दा अघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेका थिए । उनले पुटिन युक्रेनको सफलता चाहन्छन् भन्ने विश्वास व्यक्त गरे तापनि रुस तत्काल युद्धविराममा जाने पक्षमा नरहेको कुरा स्वीकार गरे ।

जनवरीमा ह्वाइट हाउसमा युक्रेनी र युरोपेली नेतासँग फेरि छलफल हुने सम्भावना छ, जसले यो दशककै सबैभन्दा ठूलो सैन्य द्वन्द्वलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने अन्तिम प्रयास हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै