Logo

१५ पौष, काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि विभिन्न गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेकी जियाको उपचारका क्रममा आज बिहान निधन भएको हो । उनी विगत २० दिनदेखि भेन्टिलेटरमा उपचाररत थिइन् ।

खालिदा जिया पछिल्ला केही वर्षदेखि छातीको संक्रमण, कलेजो र मिर्गौला सम्बन्धी समस्या, मधुमेह, बाथ तथा आँखा सम्बन्धी जटिल रोगबाट ग्रसित थिइन् । उनको निधनको पुष्टि परिवार तथा बीएनपीका शीर्ष नेताहरूले गरेका छन् ।

खालिदा जिया सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन्। उनी बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री हुन्। उनी पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नी समेत हुन् ।

उनका जेठा छोरा तथा बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान सन् २००८ देखि लन्डनमा बसोबास गर्दै आएका थिए र यसै महिना मात्र बंगलादेश फर्किएका थिए। उनका कान्छा छोरा अराफात रहमानको भने सन् २०१५ मा हृदयाघातका कारण निधन भइसकेको थियो ।

फेब्रुअरी ८, २०१८ मा ढाकाको विशेष अदालतले जिया अनाथालय ट्रस्टको नाममा सरकारी कोष हिनामिना गरेको आरोपमा खालिदा जियालाई पाँच वर्षको जेल सजाय सुनाएको थियो। यस मुद्दामा उनका छोरा तारिक रहमानसहित अन्य अभियुक्तलाई १० वर्षको सश्रम कारावासको सजाय सुनाइएको थियो। उनीहरूलाई २ करोड १० लाख बंगलादेशी टाका जरिवाना पनि तोकिएको थियो।

पछि उच्च अदालतले सन् २०१८ अक्टोबर ३० मा सजाय बढाएर १० वर्ष पुर्‍याएको थियो। कानुनी प्रक्रियाका कारण पुनरावेदन ढिलाइ हुँदै गएको थियो। शेख हसिनाविरुद्ध भएको कूको एक दिनपछि, खालिदा जिया अगस्ट ६, २०२४ मा रिहा भइन्। त्यसपछि उनी थप उपचारका लागि लन्डन गएकी थिइन् र चार महिना उपचारपछि मे ६ मा बंगलादेश फर्किएकी थिइन्।

बंगलादेशको आधुनिक राजनीति लामो समयसम्म दुई प्रभावशाली नेतृ, अवामी लिगकी शेख हसिना र बीएनपीकी खालिदा जियाको वरिपरि घुम्दै आएको छ। सन् १९८० को दशकमा सैन्य शासनविरुद्ध दुवैले सडक आन्दोलनको नेतृत्व गरेका थिए ।

सन् १९९० मा तानाशाह हुसैन मोहम्मद एरशाद पदच्युत भएपछि प्रजातन्त्र पुनःस्थापित भयो। त्यसपछि सन् १९९१ मा खालिदा जियाको निर्वाचन जितसँगै शेख हसिना र खालिदा जियाबीचको राजनीतिक प्रतिस्पर्धा चर्किएको थियो । सन् १९९० पछि बंगलादेशमा सत्ता प्रायः यी दुई नेतृमध्ये एकको हातमा रह्यो, जसलाई सञ्चारमाध्यमले ‘बेगमहरूको युद्ध’ नाम दिएका थिए ।

सन् १९४५ मा जन्मिएकी खालिदा जिया राजनीतिक पृष्ठभूमि नभएको परिवारबाट आएकी थिइन् । सन् १९६० मा उनले सैनिक अधिकृत जियाउर रहमानसँग विवाह गरिन् । सन् १९७१ को स्वतन्त्रता संग्रामका बेला जियाउर रहमानले रेडियोमार्फत स्वतन्त्र बंगलादेशको घोषणा गरेका थिए ।

सन् १९७७ मा जियाउर रहमान राष्ट्रपति बनेपछि उनले बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) गठन गरेका थिए। सन् १९८१ मा उनको हत्या भएपछि पार्टी संकटमा पर्‍यो र अन्ततः खालिदा जिया राजनीतिमा प्रवेश गर्दै सन् १९८४ मा पार्टी नेतृत्व सम्हालिन् ।

सन् १९९१ को लोकतान्त्रिक निर्वाचनमा बीएनपीको जितसँगै खालिदा जिया प्रधानमन्त्री बनिन् । उनले १९९६ मा सत्ता गुमाइन् तर सन् २००१ मा पुनः सत्तामा फर्किएकी थिइन् ।

खालिदा जियाको निधनसँगै बंगलादेशले दशकौँसम्म राजनीति प्रभावित गर्ने एक शक्तिशाली र विवादास्पद नेतृ गुमाएको छ । उनको निधनले बंगलादेशी राजनीतिमा एउटा युगको अन्त्य भएको विश्लेषकहरूले बताएका छन् ।


सम्बन्धित समाचार
भर्खरै