Logo

१५ पौष, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ मा रहेको ऐतिहासिक एवं धार्मिक महत्त्वको श्री पारसनाथ महादेव मन्दिर (महुवन मठ) को अतिक्रमित जग्गा फिर्ता ल्याउन सरकारी निकायले कठोर कदम चालेका छन् । दशकौँदेखि राजनीतिक संरक्षण र कानुनी दाउपेचमा अल्झिएको मठको ५ बिघा १७ कट्ठा १४ धुर जग्गा खाली गराउन गुठी संस्थान र स्थानीय सरकारले संयुक्त ‘अल्टिमेटम’ जारी गरेका हुन्  ।

गुठी संस्थान शाखा कार्यालय वीरगञ्जकी प्रमुख उर्मिला आचार्यले एक पत्र जारी गर्दै महुवन मठको कित्ता नम्बर २७६ मा रहेका सबै अनधिकृत घर/टहरा ७ दिनभित्र हटाउन आदेश दिएकी छिन् । लामो समयदेखि अतिक्रमणकारीको कब्जामा रहेको सो जग्गा खाली गराउन गुठीले यसपटक वारपारको रणनीति लिएको देखिन्छ ।

सोही पत्रलाई कार्यान्वयन गर्दै सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले सार्वजनिक सूचना जारी गरी ७ दिनभित्र संरचना नहटाए ‘बल प्रयोग’ गरिने चेतावनी दिएका छन् । अध्यक्ष यादवले भनेका छन्, “धार्मिक सम्पत्तिको रक्षा गर्नु हाम्रो दायित्व हो । यदि कसैले अटेर गरेमा सुरक्षा निकायको सहयोगमा डोजर चलाइनेछ र सो कार्यमा लाग्ने खर्चसमेत अतिक्रमणकारीबाट नै असुल गरिनेछ । “

महुवन मठको जग्गा विगतमा पटकपटक खाली गराउने प्रयास भए पनि राजनीतिक हस्तक्षेप र पूर्वाग्रहका कारण सफल हुन सकेको थिएन । स्थानीय बासिन्दा उप्रान्त यादवका अनुसार राजनीतिक दाउपेचले गर्दा यसअघिका प्रयासहरू निष्प्रभावी बनेका थिए । “अहिले गुठी संस्थान र गाउँपालिका दुवैले एकैसाथ कडा कदम चालेपछि मठको सम्पत्ति जोगिनेमा हामी आशावादी छौँ,” यादवले बताए ।

७ दिनको समयसीमाभित्र स्वतः संरचना नहटेमा गाउँपालिकाले सुरक्षा निकायको सहयोगमा भौतिक कारबाही गर्ने तयारी गरेको छ । स्थानीय प्रशासनले यसलाई धार्मिक सम्पदा संरक्षणको अभियानका रूपमा लिएको छ । वर्षौंदेखि विवादको घेरामा रहेको यो मुद्दा अब ‘फास्ट ट्र्याक’ मा समाधान हुने सङ्केत देखिएपछि स्थानीय भक्तजन र नागरिक समाजमा खुसीयाली छाएको छ ।


सम्बन्धित समाचार
भर्खरै