Logo

सांकेतिक तस्वीर

१६, पुष, काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकास्थित जङ्गलमा एक युवकको गोली लागेको अवस्थामा रहस्यमय शव फेला परेको छ ।

सुनकोसी गाउँपालिका–५ बन्दिपुरका २२ वर्षीय आशमान तामाङ घ्याङ्लेख–१ स्थित पिउरीखोला जङ्गलमा मृत फेला परेका हुन् । गत पुस १४ गते शिकार खेल्नका लागि घरबाट निस्किएका तामाङको शव उनको घरदेखि करिब ३ किलोमिटर टाढा जङ्गलमा नाइटोबाट रगत बगिरहेको बीभत्स अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घटनाको प्रकृति र घटनास्थलमा भेटिएका प्रमाणहरूले मृत्युलाई थप रहस्यमय बनाएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार तामाङको शव नजिकै एउटा भरुवा बन्दुक भाँचिएको अवस्थामा फेला परेको छ भने उनले भिरेको झोलाभित्र बारुद जस्तो देखिने धुलो, सिसा र फलामका टुक्राहरू समेत बरामद भएका छन् । तामाङको हत्या भएको हो वा आफैँले बोकेको बन्दुक पड्किएर दुर्घटना भएको हो भन्नेबारे प्रहरीले ठोस निष्कर्ष निकालिसकेको छैन । घटनाको प्रारम्भिक जाँचमा उनको पेटमा गोली लागेको देखिएको छ ।

घटनाको जानकारी लगत्तै प्रहरी चौकी अमले, इलाका प्रहरी कार्यालय वस्तीपुर र खुर्कोटबाट खटिएको संयुक्त टोलीले घटनास्थलको वस्तुस्थिति मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ । हाल मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ । प्रहरीले वन क्षेत्रमा शिकारका लागि लुकीछिपी जाने क्रममा बन्दुक पड्किएको हुन सक्ने वा कसैले सुनियोजित रूपमा आक्रमण गरेको हुन सक्ने दुवै कोणबाट सूक्ष्म छानबिन भइरहेको जानकारी दिएको छ ।


सम्बन्धित समाचार