१७ पुष, काठमाडौैैं । सुनसरीको कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको गोली प्रहारबाट एक स्थानीयको मृत्यु भएपछि जिल्लाको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ ।
बिहीबार झिसमिसे बिहान करिब १ बजे भारतीय सीमा क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायतका सामग्री लिएर आउँदै गरेका ४५ वर्षीय विजय साहमाथि सशस्त्र प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो । घर नजिकै गोली लागेर साहको ज्यान गएपछि आक्रोशित बनेका स्थानीयले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गर्नुका साथै पूर्व(पश्चिम राजमार्गको लौकही खण्ड पूर्ण रूपमा ठप्प पारेका छन् ।
घटनालगत्तै स्थानीयले शवलाई सडकमा राखेर दोषी सुरक्षाकर्मीमाथि तत्काल कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार स्थानीयको अवरोधका कारण राजमार्गमा सवारी साधनको लामो लाइन लागेको छ भने साना मोटरसाइकल बाहेकका ठूला गाडीहरू चल्न सकेका छैनन् ।
स्थिति नियन्त्रणमा लिन र राजमार्ग खुलाउन प्रहरीले स्थानीयसँग वार्ताको प्रयास गरे पनि हालसम्म कुनै सहमति हुन सकेको छैन । प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको ज्यादती भएको भन्दै न्यायको माग गरिरहेका छन्, जसका कारण त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

















