१७ पुष, काठमाडौं । नेपाल र चीनबीचको प्रमुख व्यापारिक कडीका रूपमा रहेको रसुवागढी नाका झन्डै आधा वर्षको सुनसानपछि पुनः गुल्जार हुन थालेको छ ।
गत असार २४ गते लेन्दे खोलामा आएको भीषण बाढीले दुई देश जोड्ने ऐतिहासिक मितेरी पुल बगाएपछि यो नाका पूर्ण रूपमा विच्छेद भएको थियो । लामो समयको प्रयास र चिनियाँ पक्षद्वारा निर्मित नयाँ बेलिब्रिज सञ्चालनमा आएसँगै बिहीबारदेखि सवारी साधनहरूको आवतजावत औपचारिक रूपमा सुरु भएको हो ।
रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार नाका खुलेसँगै आज बिहानैदेखि नेपालबाट खाली कन्टेनरहरू सामान लिन चीनतर्फ प्रस्थान गरेका छन् । ६ महिनासम्म व्यापारिक गतिविधि ठप्प हुँदा सीमा क्षेत्रका व्यवसायी र राजस्व संकलनमा ठूलो असर परेको थियो ।
अब बेलिब्रिजमार्फत आवतजावत सुचारु भएसँगै चीनबाट हुने आयात र नेपालको निर्यात व्यापारले पुनः लय समात्ने अपेक्षा गरिएको छ । चीनतर्फबाट पनि सामान लोड भएका कन्टेनरहरू नेपाल भित्रिने तयारीमा रहेकाले सीमा क्षेत्रमा पुनः व्यावसायिक चहलपहल बढ्न थालेको छ ।

















