१७ पुष, काठमाडौं । नवलपरासीको बर्दघाट नगरपालिका–१२ कजडैयास्थित एक टायल्स उद्योगमा दुई जना मजदुर रहस्यमय ढंगले मृत फेला परेपछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको छ ।
बुधबार राति उद्योगको ग्यासी फायरमा डिउटीमा खटिएका बर्दघाट–१३ का ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेशका ३० वर्षीय विनोद कुमार बिहीबार बिहान पोकिङ फ्लोरमा मृत अवस्थामा फेला परेका हुन् । उद्योग प्रशासनले उनीहरू सुतेकै अवस्थामा मृत भेटिएको जानकारी प्रहरीलाई गराए पनि घटनाको प्रकृतिलाई लिएर अनेक शंका उब्जिएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतकहरूको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको बताइएको छ, तर कार्यस्थलमै दुई जना लक्का जवान मजदुरको अस्वाभाविक मृत्युले गम्भीर प्रश्न खडा गरेको छ। घटना सार्वजनिक भएलगत्तै आक्रोशित बनेका आफन्त र स्थानीयले उद्योग परिसर घेराउ गर्दै प्रदर्शन सुरु गरेका छन् । उनीहरूले कार्यस्थलको सुरक्षा र घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने माग राख्दै उद्योगको कामकाज समेत ठप्प पारेका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन र घटनाको विस्तृत अनुसन्धान गर्न घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार अहिले ३१ जनाको टोलीले घटनास्थलमा सुक्ष्म अनुसन्धान गरिरहेको छ भने मृतकका आफन्तलाई शान्त पार्न र वार्तामार्फत निकास निकाल्ने प्रयास भइरहेको छ । उद्योगभित्रको ग्यास चुहावट वा अन्य कुनै प्राविधिक कारणले मृत्यु भएको हो या यसमा कसैको लापर्बाही छ भन्ने विषयमा प्रहरीले पोस्टमार्टम रिपोर्ट र प्राविधिक पक्षको अध्ययन गरिरहेको छ ।

















