Logo

१९ पौष, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख रुपैयाँसम्म चुनावी खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले भौगोलिक विकटता, यातायात पहुँच र व्यवस्थापन खर्चलाई आधार मानेर निर्वाचन क्षेत्रअनुसार खर्चको सीमा निर्धारण गरेको हो ।

आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापका निर्वाचन क्षेत्रका उम्मेदवारले सबैभन्दा बढी खर्च गर्न पाउनेछन् । यस्तै काभ्रेपलान्चोकका दुई निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक, लमजुङको एक, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले पनि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

भौगोलिक रूपमा सुगम जिल्लाका निर्वाचन क्षेत्रमा भने न्यूनतम २५ लाख रुपैयाँ बराबर मात्रै चुनावी खर्च गर्न पाइने आयोगले जनाएको छ । सबैभन्दा कम खर्च सीमा तोकिएका पाँच निर्वाचन क्षेत्रमा काठमाडौँ–१, ३, ६, ७ र ८ रहेका छन् ।

यसैगरी तेह्रथुम, पर्सा–१, २ र ३, रसुवा, काठमाडौँ–२, ४, ५, ९ र १०, ललितपुर–१ र २, मनाङ, कास्की–२ तथा रुकुम पूर्वका उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँ र ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

यसपटक निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सबै निर्वाचन खर्च त्यही खातामार्फत गर्नुपर्ने आयोगले जनाएको छ । खर्च सीमा उल्लङ्घन भएमा कानुनी कारबाही हुने चेतावनी पनि आयोगले दिएको छ ।


सम्बन्धित समाचार