१९ पौष, बारा । नेकपा (एमाले) ले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । पार्टीको सम्बन्धित कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा प्रस्ताव नम्बर १ अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस सम्बन्धमा विस्तृत छलफल गरी तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरिएको जनाइएको छ ।
सिफारिस सूचीको पहिलो नम्बरमा मधेश प्रदेश कमिटी सदस्य अमर यादवको नाम राखिएको छ । परवानीपुर गाउँपालिका-३ निवासी यादवलाई क्षेत्रीय संगठन, राजनीतिक सक्रियता र स्थानीय लोकप्रियताका आधारमा पहिलो प्राथमिकतामा सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ ।
त्यसैगरी एमाले केन्द्रीय कमिटी सदस्य कृष्णा कुमार श्रेष्ठको नाम पनि प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको छ । उनको स्थायी जितपुरसिमारा वडा नम्बर ४ मा रहेको छ । यस्तै, एमाले मधेश प्रदेश कमिटी सदस्य सिता गुरुङको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवार सिफारिसमा समावेश गरिएको छ । उनी वडा नम्बर २१ निवासी हुन् ।
बैठकमा उम्मेदवार सिफारिससँगै आगामी निर्वाचनको तयारी, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको जनाइएको छ ।
एमालेले केन्द्रबाट अन्तिम निर्णय भएपश्चात् उम्मेदवारको औपचारिक घोषणा गर्ने जनाएको छ । बारा–४ मा सत्तारूढ र विपक्षी दलबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

















