२५ पुष, काठमाडौं । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो । यस वृद्धिसँगै छापावाल सुनको मूल्य २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो दिन यसको कारोबार २ लाख ६५ हजार ७ सय रुपैयाँमा भएको थियो ।
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुको नजिक पुग्दै गर्दा ऐतिहासिक रेकर्डभन्दा अझै केही कम रहेको छ । यसअघि गत पुस १३ गते सुनको मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा देखिन थालेको व्यवसायीहरूले बताएका छन् ।
सुनको मूल्य आकाशिएकै दिन चाँदीको मूल्यमा भने ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८३५ रुपैयाँमा खरिद(बिक्री भएको चाँदी शुक्रबार ५५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा सीमित भएको छ । केही दिनअघि मात्रै पुस २३ गते चाँदीको मूल्यले ४ हजार ९३५ रुपैयाँको कीर्तिमानी उचाइ छोएको थियो ।















