Logo

२७ पौष, काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली आज आइतबार प्रकाशन गरिँदैछ । निर्वाचन आयोगले पुस २३ गते दर्ता भएका मनोनयनउपर दाबी विरोध र छानबिनको प्रक्रिया पुरा गरी आज दिउँसो अन्तिम सूची सार्वजनिक गर्न लागेको हो ।

आयोगको कार्यतालिका अनुसार आजै उम्मेदवारहरूलाई आफ्नो नाम फिर्ता लिने समय समेत दिइएको छ। नाम फिर्ता लिन चाहने उम्मेदवारहरूका लागि तोकिएको समय सकिएपछि आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । अन्तिम सूचीमा परेका उम्मेदवारहरूलाई सोमबार (भोलि) निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

१८ पदका लागि ४४ प्रतिस्पर्धी

आगामी फागुन २० गतेदेखि रिक्त हुन लागेको १८ सदस्य पदका लागि विभिन्न कलस्टरबाट कुल ४४ जनाको उम्मेदवारी दर्ता भएको छ । यस निर्वाचनमा मुख्य शक्तिहरूबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) ले चुनावी गठबन्धन गरेका छन् । यो गठबन्धनबाट कांग्रेसले ९, एमालेले ८ र जसपाले ३ जना उम्मेदवार उठाएका छन् । अर्कोतर्फ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भने एक्लै चुनावी मैदानमा उत्रिएको छ । नेकपाले १७ वटा पदमा आफ्ना उम्मेदवार खडा गरेको छ।

यस्तै, राष्ट्रिय जनमोर्चाले ३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले २ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभाको यो निर्वाचन आगामी माघ ११ गते हुनेछ। आयोगका अनुसार मतदान सो दिन बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएका मतदान केन्द्रहरूमा हुनेछ। रिक्त १८ पदका लागि हुने यस निर्वाचनले राष्ट्रिय सभाको आगामी समीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै