Logo

२८ पौष, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले आज सोमबार उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूलाई आज अपराह्न ४ बजेसम्मको समय सीमा तोकिएको हो ।

राजनीतिक दलहरूले गत पुस १३ र १४ गते निर्वाचन आयोगमा बुझाएको उम्मेदवारको बन्दसूचीमा रहेका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन चाहेमा आज कार्यालय समयभित्र निवेदन दिनुपर्नेछ ।

निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले ‘प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२’ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ । आयोगले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मका लागि समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिने व्यवस्था मिलाएको छ ।

कुनै कारणवश उम्मेदवार आफैँ उपस्थित हुन नसक्ने अवस्थामा वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने सुविधा आयोगले दिएको छ । उम्मेदवारी फिर्ता लिएपछि रिक्त हुन आउने स्थानमा सम्बन्धित राजनीतिक दलले नयाँ उम्मेदवार समावेश गर्ने प्रक्रियाका लागि आयोगले पुनः समय उपलब्ध गराउनेछ ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कुल २७५ सदस्यीय सदनको नयाँ समीकरण तयार हुँदैछ । नेपालको संवैधानिक व्यवस्थाअनुसार यस निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ, जसअन्तर्गत प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना सांसदहरू निर्वाचित हुनेछन् । प्रत्यक्षतर्फ भूगोलका आधारमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेको छ भने समानुपातिकतर्फ राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीका आधारमा जनसंख्या र क्लस्टरअनुसार प्रतिनिधिहरू चयन गरिनेछ। यस प्रणालीले संसदमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विश्वास लिइएको छ ।

निर्वाचन आयोगले फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी कार्यतालिका स्वीकृत गरिसकेको छ । अहिले दलहरू समानुपातिक बन्दसूचीलाई अन्तिम रूप दिने र प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने गृहकार्यमा व्यस्त रहेका छन् ।


सम्बन्धित समाचार