२९ पौष, काठमाडौँ । बेमौसमी वर्षा, बाढी र समयमा पानी नपर्दा यस वर्ष रौतहटमा धान उत्पादनमा उल्लेख्य गिरावट आएको छ । कृषि ज्ञान केन्द्र रौतहटका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा २१ हजार ५७८ मेट्रिक टन कम धान उत्पादन भएको छ ।
गत असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढीले भित्र्याउने बेलाको धान बालीमा क्षति पुर्याएपछि उत्पादन घटेको हो । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीका अनुसार गत वर्ष जिल्लामा १ लाख १६ हजार ७०८ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष घटेर ९५ हजार १३० मेट्रिक टनमा सीमित भएको छ ।
यस वर्ष रौतहटमा ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो, जबकि गत वर्ष ३५ हजार ८ हेक्टरमा खेती भएको थियो । समयमा वर्षा नहुँदा करिब ४ हजार ३०० हेक्टर जमिन बाँझो रहेकाले उत्पादनमा प्रत्यक्ष असर परेको हो ।
तथ्याङ्कअनुसार यस वर्ष प्रतिहेक्टर उत्पादन ३.०२ मेट्रिक टन रहेको छ, जुन गत वर्षको ३.२६ मेट्रिक टनको तुलनामा ०.२४ प्रतिशतले कम हो ।
गत असोजको बाढीले जिल्लाको १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धान बालीमा क्षति पुर्याएको कार्यालयले जनाएको छ । बकैया र बागमती नदीले तटबन्ध भत्काएर बालीमा बाढी पसेपछि किसानहरू मर्कामा परेका हुन् ।
कृषि ज्ञान केन्द्रका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्रहरूमा राजदेवी, परोहा र राजपुर नगरपालिका रहेका छन् । त्यसैगरी, माधवनारायण, गढीमाई, ईशनाथ र मौलापुर नगरपालिकाका साथै दुर्गाभगवती गाउँपालिकामा पनि बाढीले धान खेती पूर्ण रूपमा नष्ट गरेको छ। बकैया र बागमती नदीको तटबन्ध भत्किएर खेतमा पानी पसेपछि यी क्षेत्रका किसानहरूले यस वर्ष ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ ।
लागतअनुसारको उत्पादन नभएपछि रौतहटका किसानहरू चिन्तित बनेका छन् । बाढीले बगाएको तटबन्ध समयमै मर्मत नहुँदा र सिँचाइको उचित व्यवस्था नहुँदा आगामी वर्षहरूमा पनि उत्पादन घट्न सक्ने जोखिम रहेको विज्ञहरू बताउँछन् ।














