२९ पुष, काठमाडौं । नेपाली सुनचाँदी बजारमा मंगलबार बहुमूल्य धातु सुनको मूल्यमा भारी वृद्धि भएसँगै यसले अहिलेसम्मकै महँगो हुने नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा उछाल आउँदा सोमबारको तुलनामा उल्लेख्य वृद्धि भई प्रति तोला २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन सोमबार मात्रै सुन प्रति तोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएकोमा, २४ घण्टा नबित्दै मूल्यले पुनः नयाँ उचाइ तय गरेको छ ।
पछिल्लो बजार भाउ अनुसार छापावाल सुन अब १० ग्राम खरिद गर्न उपभोक्ताले २ लाख ३७ हजार ५५ रुपैयाँ तिर्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उत्तारचढाव र आर्थिक कारणहरूले गर्दा स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूको भनाइ छ । लगातार बढ्दै गएको सुनको मूल्यले सर्वसाधारण र व्यवसायी दुवैलाई अचम्मित तुल्याएको छ ।
सुनसँगै चाँदीको मूल्यले पनि मंगलबार नेपाली बजारमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार प्रति तोला ५ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ह्वात्तै बढेर ५ हजार ३४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । एकै दिन चाँदीको मूल्यमा भएको यो बढोत्तरीले पनि बजारमा नयाँ तरंग पैदा गरेको छ, जसका कारण बहुमूल्य धातुको कारोबारमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।















