Logo

३० पौष, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्दसूचीबाट १ सय ७५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले मंगलबार साँझ सार्वजनिक गरेको अन्तिम विवरणअनुसार एकलसहित १७ चुनाव चिह्नका उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका हुन् ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ सय १० जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । लोसपा अन्य दलसँग एकता गरेकाले यसअघि पेस गरिएको सम्पूर्ण बन्दसूची फिर्ता गरिएको उनले बताए ।

त्यसैगरी जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका ६ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका ४-४ जना तथा नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २-२ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता गरेका छन् ।

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नमा रहेका एक–एक जना उम्मेदवारले पनि बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । यस्तै, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक–एक जना उम्मेदवारले नाम फिर्ता गरेका आयोगले जनाएको छ ।

समानुपातिकतर्फका बन्दसूची दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा पेस गरेका थिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ सिट प्रत्यक्ष र १ सय १० सिट समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । आयोगले पछिल्लो जनगणनाका आधारमा जातीय, लैंगिक तथा क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित हुने गरी समानुपातिक सिट बाँडफाँट गर्ने व्यवस्था गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै