Logo

Your paragraph text – 1

६ माघ, काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको जारी तथा चुक्ता पुँजी ६२ करोड ५० लाख पुगेको छ ।

व्यावसायिक परामर्श र लगानीको क्षेत्रमा स्थापित नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन लिमिटेडले जारी तथा चुक्ता पुँजीको लक्ष्य प्राप्त गरेको हो । यो सँगै कम्पनीको सोमबार सम्पन्न विशेष साधारण सभाले पुँजी वृद्धि र सार्वजनिक सेयर निष्कासन (आईपीओ) सम्बन्धी महत्वपूर्ण निर्णयहरू सर्वसम्मतिले पारित गरेको छ ।

पुँजी वृद्धि र स्वामित्व संरचनामा परिमार्जन

सभाले कम्पनीको जारी तथा चुक्ता पुँजीलाई ६२ करोड ५० लाख रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गरेको हो । यसअघि कम्पनीको जारी पुँजी ५० करोड रुपैयाँ रहेकोमा व्यवसाय विस्तार र नियामक निकायको आवश्यकतालाई मध्यनजर गर्दै पुँजी वृद्धि गर्ने निर्णय लिएको सञ्चालक समितिले जनाएको छ । कम्पनीका अध्यक्ष देवेन्द्रप्रताप शाहको अध्यक्षतामा सम्पन्न उक्त सभाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व संरचनामा समेत परिमार्जन गरेको छ । नयाँ व्यवस्था अनुसार अब कम्पनीमा संस्थापकको हिस्सा ८० प्रतिशत र सर्वसाधारणको हिस्सा २० प्रतिशत कायम हुने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गरिएको छ ।

आईपीओका लागि बलियो आधार र लाभांशको प्रतिबद्धता

नेपाल धितोपत्र बोर्डले लगानी कम्पनीहरूका लागि तोकेका सर्तहरू पूरा गर्दै सर्वसाधारणमा सेयर जारी गर्ने तयारीमा रहेको नेक्सजेनले यसअघि नै लगातार तीन वर्ष खुद मुनाफा आर्जन गरिसकेको र कम्पनीको नेटवर्थ समेत अंकित मूल्यभन्दा बढी रहेकाले आईपीओका लागि बलियो आधार तयार भएको जानकारी दिएको छ ।

सभामा प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष शाहले कम्पनीको प्रगति र भावी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा स्वागत मन्तव्य राख्दै प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले हाल ‘प्रि–आईपीओ’ का नाममा बजारमा अस्वस्थ वातावरण सिर्जना भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । यस्तो जटिल र प्रतिकूल परिस्थितिका बावजुद नेक्सजेन म्यानेजमेन्टलाई सही मार्गमा अगाडि बढाइएको उहाँको भनाई छ । भट्टराईले कम्पनीले सही स्थान र सही तरिकाले लगानी परिचालन गरिरहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षभित्रै सेयरधनीहरूलाई लाभांश वितरण गर्ने दृढ प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सञ्चालक समितिलाई पूर्ण अख्तियारी

एक सयभन्दा बढी सेयरधनीहरूको सक्रिय सहभागिता रहेको उक्त सभामा सेयरधनीहरूले उठाएका जिज्ञासाको सञ्चालक विजय बहादुर शाहले जवाफ दिनुभएको थियो । कार्यक्रमको समापन गर्दै सञ्चालक अजय कुमार मिश्रले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त सभाले आईपीओ जारी गर्ने सिलसिलामा आवश्यक पर्ने सम्पूर्ण तयारी र अन्तिम निर्णय गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेसँगै कम्पनी सार्वजनिक कम्पनीका रूपमा सूचीकृत हुने प्रक्रियामा एक कदम अघि बढेको छ ।

 


सम्बन्धित समाचार