Logo

७ माघ, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राजनीतिक वृत्त यतिबेला निकै गर्माएको छ ।

भरतपुर महानगरका निवर्तमान मेयर रेणु दाहाल र उदाउँदो राजनीतिक शक्तिकी सोविता गौतमबीचको प्रतिस्पर्धालाई लिएर जनस्तरमा व्यापक बहस सुरु भएको हो ।

दुई कार्यकालको अनुभव, विकासका ठुला पूर्वाधार निर्माणको श्रेय र मजबुत संगठनको जगमा उभिएकी दाहाललाई सत्तापक्ष र विकासप्रेमी तप्काले चितवन–३ मा बलियो दावेदारका रूपमा हेरेका छन् । विशेष गरी भरतपुरको कायापलट र राष्ट्रिय गौरवका आयोजनाहरूलाई पूर्णता दिन दाहालले आफ्नो कार्यकालमा सकेको सबै प्रयास गरिन्, जसका कारण कतिपयले विकासप्रेमी नेतृको रुपमा उनको निरन्तरताको आवश्यकता औल्याएका छन् ।

परिवर्तनको नारा र सोविताको प्रभाव

अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रभावशाली नेतृ सोविता गौतमप्रति युवा पुस्ता र परिवर्तन चाहने मतदाताको राम्रो आकर्षण देखिएको छ । परम्परागत राजनीतिक शक्ति र कार्यशैलीप्रति असन्तुष्ट रहेको एउटा ठुलो हिस्साले सोवितालाई नयाँ आशा र भिजनको संवाहकका रूपमा हेरेका छन् । संसदमा सोविताको तार्किक प्रस्तुति र स्पष्ट वक्ताको छविले गर्दा चितवनका मतदाताहरूमाझ ‘नयाँ अनुहार र नयाँ सोच’ को बहस छ ।

नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका यी दुई प्रभावशाली नेतृको उपस्थितिले आगामी चुनावी समीकरणलाई नै उथलपुथल बनाउन सक्ने अनुमान गरिएको छ । रास्वपाको संगठन संरचना चितवनमा बलियो देखिन्छ । छोटो समयमा बलियो संगठन बनाए पनि रास्वपा चितवन–३ मा भने केही कमजोर देखिन्छ । सोविता आफुहरुको परिवर्तनलाई जनताले हेर्नेमा आशावादी छिन् भने रेणु आफुले गरेको कर्मको आधारमा जनताले न्याय गर्नेमा ढुक्क छिन् ।

रेणुको बलियो साङ्गठनिक आधार र परीक्षित विकास

जितको सम्भावनालाई केलाउँदा रेणु दाहाललाई नै बलिया उम्मेदवार मान्न सकिने धेरै आधारहरू छन् । झन्डै एक दशकदेखि भरतपुरको नेतृत्व सम्हाल्दै आएकी दाहालले महानगरलाई धुलाम्य सडकबाट आधुनिक पूर्वाधारको सहरमा रूपान्तरण गरेको तथ्यलाई मतदाताले प्रत्यक्ष महसुस गरेका छन् ।

गौतमको तुलनामा दाहालसँग स्थानीय सरकार सञ्चालनको व्यावहारिक अनुभव मात्र छैन, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, सिटी हल र रिङ्क रोडहरूलाई पूर्णता दिने स्पष्ट मार्गचित्र समेत उनीसँग रहेको जनताले राम्रोसँग महसुस गरेका छन् ।

अनुभव भर्सेज परिवर्तनको लडाइँ

सोविता गौतमको लोकप्रियता मुख्यतया सामाजिक सञ्जाल र सहरिया युवाहरूमा देखिए पनि दाहालको पहुँच महानगरका ग्रामीण वडा र टोल–टोलसम्म पुगेको छ । केन्द्र सरकारसँगको सिधा समन्वय र बजेट ल्याउन सक्ने क्षमताका कारण भरतपुरको समृद्धिका लागि धेरैले दाहाललाई नै भरपर्दो पात्र ठानेका छन् । भावनात्मक लहर भन्दा नतिजामुखी राजनीतिमा विश्वास गर्ने मतदाताका लागि रेणुको ‘परीक्षित व्यक्तित्व’ नै बढी विश्वसनीय देखिन्छ ।

चितवन–३ मा दुई नेत्रीबीचको प्रतिस्पर्धा केवल व्यक्तिको मात्र नभई ’अनुभव भर्सेज परिवर्तन’ को लडाइँ जस्तो देखिएको छ, जसको अन्तिम फैसला आउँदो चुनावमा खस्ने मतले नै निर्धारण गर्नेछ ।

 


सम्बन्धित समाचार