Logo

७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना नेता तथा कार्यकर्ताहरूलाई अत्यन्तै संयमित र मर्यादित भएर चुनावी मैदानमा उत्रिन निर्देशन दिनुभएको छ ।

चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न जोड दिँदै स्वस्थ प्रतिस्पर्धा नै लोकतन्त्रको सुन्दरता भएको उल्लेख गर्नुभयो । उहाँले कुनै पनि राजनीतिक दलले मतदातालाई भड्काउने वा उत्तेजित पार्ने खालका गतिविधि गर्न नहुने भन्दै राजनीतिक संस्कार प्रदर्शन गर्न सबैमा अपील गर्नुभएको छ ।

सभापति लामिछानेले चुनावी परिणाम जे जस्तो आए पनि त्यसलाई सहर्ष स्वीकार गर्ने मनसायका साथ अघि बढ्न पार्टी पंक्तिलाई आग्रह गर्नुभयो । अरू राजनीतिक दलका नेता तथा कार्यकर्ताप्रति सम्मानजनक व्यवहार गर्न र कतै पनि अशिष्ट ढङ्गले प्रस्तुत नहुन उहाँले विशेष निर्देशन दिनुभएको छ । समाजमा रहेका असन्तुष्टि र आक्रोशलाई सडकमा होइन, बरु मतदानमार्फत व्यक्त गर्नुपर्नेमा उहाँको जोड थियो ।

पछिल्लो समय चुनावी सरगर्मी बढिरहेका बेला लामिछानेको यो भनाइले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । उहाँले आक्रोशलाई मतमा बदल्न आग्रह गर्दै आफ्ना समर्थकहरूलाई जिम्मेवार नागरिकको परिचय दिन र लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउन समेत आह्वान गर्नुभएको छ ।


सम्बन्धित समाचार