७ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आन्दोलनका नाममा हिंसा र आगजनी गर्ने तत्वहरूलाई संरक्षण गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ ।
आफ्नो गृहजिल्ला झापा पुगेर जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाहरूको प्रत्यक्ष अवलोकन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सरकारको कार्यशैलीप्रति कडा आक्रोश पोख्नुभयो । उहाँले आन्दोलनको आडमा व्यक्तिको घर र सार्वजनिक सम्पत्ति जलाउनेहरूलाई कारबाही नगरिनुले यो सरकार आगजनी गर्नेहरूकै पक्षमा रहेको पुष्टि हुने तर्क गर्नुभयो ।
झापामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले अपराधलाई कुनै पनि बहानामा प्रोत्साहित गर्न नसकिने स्पष्ट पार्नुभयो। उहाँले अहिलेको सरकारले अपराधीहरूलाई जोगाउने काम गरिरहेको भए पनि यो अवस्था सधैँ नरहने चेतावनी दिनुभयो। ‘समय आउँछ, कारबाही गर्ने समय पक्कै आउँछ,’ भन्दै उहाँले विधिको शासन स्थापनाका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभयो । ओलीले देशलाई अराजकताबाट मुक्त गरी शान्तिपूर्ण र सबैका लागि बस्न लायक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
राजनीतिक पूर्वाग्रहका कारण सरकारले विधिको शासन उल्लंघन गरेको टिप्पणी गर्दै ओलीले आगामी दिनमा यस्ता अराजक गतिविधिमा संलग्न जोकोहीले पनि सजाय भोग्नुपर्ने संकेत गर्नुभएको छ । झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा रहनुभएका ओलीको यो पछिल्लो अभिव्यक्तिले वर्तमान सत्ता समीकरण र सुरक्षा व्यवस्थामाथि नयाँ राजनीतिक बहस सिर्जना गरेको छ ।
















