Logo

४ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमेली जनताको समृद्धिको तीव्र चाहना र जनभावनालाई कदर गर्दै आफूले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ ।

प्रेस सेन्टर नेपाल रुकुम पूर्वले बुधबार रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस क्षेत्रको विशिष्ट इतिहास, भूगोल र संस्कृतिको सम्मान गर्दै विकासको एउटा नयाँ र मौलिक ढाँचा अघि बढाउने सङ्कल्प व्यक्त गर्नुभयो । जनयुद्धको आधार क्षेत्रका रूपमा रहेको यस जिल्लाको विकासलाई नयाँ गति दिने प्रतिबद्धता जनाउँदै उहाँले स्थानीय जनताको अपेक्षाअनुसार नै आफू चुनावी मैदानमा होमिएको बताउनुभयो ।

संयोजक दाहालले आफ्नो चुनावी एजेन्डामा भौतिक पूर्वाधारको विस्तार, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा पहुँच, आधुनिक कृषि, रोजगारीको सिर्जना र पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले रुकुम पूर्वलाई केवल राजनीतिक रूपमा मात्र नभई समग्र विकासका दृष्टिले समेत समाजवादको बीउ रोप्ने थलोका रूपमा व्याख्या गर्नुभयो । यस क्षेत्रलाई समाजवादी क्रान्तिको बलियो ‘आधारइलाका’ बनाउने उद्घोष गर्दै उहाँले यहाँको कायापलट गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको दाबी गर्नुभयो ।

चुनावी अभियानकै क्रममा संयोजक दाहालले बुधबार नै रुकुम पूर्वका सहिद परिवारहरूसँग भेटघाट गरी उनीहरूको समस्या र भावना बुझ्ने प्रयास गर्नुभएको छ । साथै, उहाँले स्थानीय जनसमुदायसँग प्रत्यक्ष अन्तःक्रिया गर्दै जिल्लाको समृद्धिका लागि साझा अवधारणा तय गर्ने कार्यमा सक्रियता देखाउनुभएको छ । उहाँको यो उम्मेदवारी र सक्रियताले रुकुम पूर्वमा नयाँ राजनीतिक उत्साह थपेको विश्लेषण गरिएको छ।


सम्बन्धित समाचार