७ माघ, काठमाडौं । अमेरिकाले मंगलबार चार्टर्ड विमानमार्फत ८० जना नेपाली नागरिकलाई काठमाडौं फिर्ता पठाउँदै फेरि ठुलो संख्यामा डिपोर्ट गरेको छ ।
अध्यागमन विभागका अनुसार यसरी फिर्ता पठाइएकाहरूमा ७९ जना पुरुष र एकजना महिला रहेका छन् । अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका, आवश्यक कागजात नभएका र त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेका नेपालीहरूलाई अमेरिकी सरकारले विशेष विमानमार्फत काठमाडौं ल्याएर छाडिदिएको हो ।काठमाडौं आइपुगेका ती नेपालीहरूलाई तत्कालै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा लगिएको थियो, जहाँ उनीहरूको नेपालसम्मको यात्रा र संलग्न एजेन्टहरूबारे विस्तृत सोधपुछ गरिएको छ ।
ब्युरोले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई परिवारको जिम्मा लगाउनुका साथै यदि कसैले प्रलोभनमा पारी गैरकानुनी ढंगले अमेरिका पठाएको भए उजुरी दिन समेत आग्रह गरेको छ । अमेरिकाले पछिल्लो समय कागजातविहीन नेपालीहरूलाई चरणबद्ध रूपमा डिपोर्ट गर्ने प्रक्रियालाई तीव्रता दिँदै आएको छ ।
















