Logo

७ माघ,काठमाडौं ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट पाउने उद्देश्यले दल परिवर्तन गर्ने नेताहरू मधेस प्रदेशमा बढी देखिएका छन्।

सबैभन्दा बढी चर्चा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा को छ। मधेस केन्द्रित दलबाट राजनीतिमा प्रवेश गरेका झा अहिले कांग्रेसबाट उम्मेदवारी दिएका छन्। उनले रौतहट–१ बाट चुनाव लडेका छन् र पार्टी छाडेर होइन, कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेको बताएका छन्।

त्यस्तै, अन्तिम समयमा नेपाली कम्युनिस्ट पार्टी छाडेर जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका रामेश्वर राय यादव र उमेश यादव सर्लाही–४ र सप्तरी–२ बाट उम्मेदवार बनेका छन्। यादवहरूले टिकट नपाएपछि पार्टी परिवर्तन गरेको बताएका छन्। सर्लाही–४ मा उनी कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहसँग प्रतिस्पर्धा गर्दैछन्।

यस्तै, जसपा नेपाल छाडेर अरू दलबाट उम्मेदवारी दिने अन्य नेताहरूमा प्रदीप यादव (पर्सा–१, एमाले), डा. वीरेन्द्र महतो (सिरहा–४, जनमत पार्टी), रञ्जु ठाकुर (सप्तरी–२, नेपाल जनता पार्टी), इस्तियाक राई (बाँके, एमाले), प्रमोद गुप्ता (बारामा, जनमत पार्टी) र वृजेश गुप्ता (सर्लाही, नेकपा) समावेश छन्।

नेकपा छाडेर रास्वपामा प्रवेश गरेका रहबर अन्सारी, एमाले छाडेर नेकपा प्रवेश गरेका किरण साह, कांग्रेसका वीरेन्द्रकुमार कनौडिया र राप्रपा छाडेर रास्वपामा प्रवेश गरेका प्रकाश रजौरिया पनि चुनावी मैदानमा छन्।

जसपा नेपाल छाडेका नेताहरूले टिकट नपाए, नेताहरूको व्यवहार ठीक नलागेको वा पार्टीमा अवसरको कमी भएको कारण दल परिवर्तन गरेको बताएका छन्। प्रदीप यादव भन्छन्, “जसपा नेपालमा मलाई टिकटको समस्या थिएन, तर नेताहरूको मानसिकता ठीक थिएन, त्यसैले पार्टी छाडेको हुँ।”

विशेषज्ञहरूले मतदातालाई आफ्नो प्रभाव र क्षेत्रीय पहचान देखाएर चुनाव जित्ने रणनीतिका कारण दल परिवर्तन बढेको विश्लेषण गरेका छन्।


सम्बन्धित समाचार