९ माघ, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बोलाइएको हो ।
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै बैठकको समय र स्थानबारे दिएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला बस्न लागेको यस बैठकलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।
बैठकमा सहभागी हुन पार्टीका पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ। मुख्यतया आजको बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, चुनावी घोषणापत्रको अन्तिम तयारी र देशभर पार्टीको चुनावी अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सघन छलफल हुने बुझिएको छ।
विशेष महाधिवेशनपछि नयाँ ऊर्जाका साथ चुनावी मैदानमा होमिएको कांग्रेसले यस बैठकबाट आफ्ना उम्मेदवारहरूलाई जिताउनका लागि विशेष रणनीति र ‘कमान्ड’ तोक्ने सम्भावना रहेको छ। साथै, पार्टीभित्रको आन्तरिक एकता र असन्तुष्ट पक्षको सम्बोधनका विषयमा पनि छलफल हुनसक्ने नेताहरूले बताएका छन्।
















