९ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी माघ ११ गतेका लागि तय गरिएको राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने औपचारिक निर्णय गरेको छ ।
पार्टीको पछिल्लो बैठकले माथिल्लो सदनको निर्वाचनमा अल्झिनुभन्दा आफ्नो सम्पूर्ण सांगठनिक शक्ति र ध्यान प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित गर्नु बुद्धिमानी हुने निष्कर्ष निकालेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार यसपटकको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट कुनै पनि उम्मेदवार खडा नगरिएको र अन्य दलका उम्मेदवारलाई मतदान गर्ने प्रक्रियामा समेत सहभागी नहुने गरी पार्टीले आफ्नो कार्यदिशा प्रष्ट पारेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाता रहने संवैधानिक व्यवस्था छ। हाल राप्रपासँग देशभरि २८ जना प्रदेश सांसदसहित स्थानीय तहका केही निर्णायक प्रमुख तथा उपप्रमुखहरूको मतभार सुरक्षित छ । यद्यपि, बदलिँदो राजनीतिक परिस्थितिमा प्रतिनिधिसभालाई नै मुख्य प्राथमिकतामा राख्ने रणनीतिका साथ राप्रपा यो चुनावी प्रक्रियाबाट बाहिरिएको हो । प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनको तयारीलाई थप प्रभावकारी बनाउन यो कदम चालिएको स्पष्ट पार्नुभएको छ ।
















