९ माघ, काठमाडौं । आसन्न निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी दर्ता गराएकी आशिका तामाङले चुनावी मैदान छाड्ने निर्णय गरेकी छन् ।
मनोनयन फिर्ता लिने अन्तिम दिन शुक्रबार उनले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया अघि बढाएको जानकारी दिएकी हुन् । यसका लागि उनले जिल्ला निर्वाचन कार्यालयमा प्रारम्भिक रूपमा इमेल र फोनमार्फत जानकारी गराइसकेकी छन् भने निर्वाचन अधिकृतको कार्यालयमा भौतिक रूपमा उपस्थित भई औपचारिक निवेदन दिन उनी काठमाडौंबाट धादिङतर्फ प्रस्थान गरेकी छन् ।
अचानक चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेकी तामाङले यसो गर्नुको ठोस कारण भने हालसम्म खुलाएकी छैनन् । उम्मेदवारी फिर्ता लिने विषयमा उनले शुक्रबार बिहानै निर्वाचन आयोगका पदाधिकारीहरूसँग समेत परामर्श गरेको बुझिएको छ । धादिङ–२ मा उनको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको भए तापनि अन्तिम समयमा आएर उनले स्वेच्छाले ब्याक हुने निर्णय गरेपछि सो क्षेत्रको चुनावी समीकरणमा नयाँ फेरबदल आउने संकेत देखिएको छ ।
















