Logo

११ माघ, काठमाडौँ । देशलाई नै स्तब्ध बनाएको बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि काठमाडौँ जिल्ला अदालतमा निर्णायक सुनुवाइ सुरु हुँदैछ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको संगठित ठगी र राज्यविरुद्धको अपराधका विषयमा परेका मुद्दाहरूमाथि जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पेसी तोकिएको हो । उच्च पदस्थ राजनीतिक नेतृत्व र प्रशासनिक अधिकारीहरू जोडिएको यस मुद्दालाई अदालतले करिब साढे दुई वर्षको कानुनी प्रक्रियापछि अन्तिम किनारा लगाउने तयारी गरेको छ ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाइएको छ । गिरोहको योजनाबद्ध सेटिङमा नक्कली कागजात तयार पारी करोडौँ ठगी गरेको दाबीसहित २०८० जेठ १० गते पहिलो पटक अभियोगपत्र दर्ता भएको थियो । त्यसपछि विभिन्न चरणमा केशव दुलाल र बेचन झा लगायतका सन्दिग्ध पात्रहरूविरुद्ध पूरक अभियोगपत्रहरू दर्ता भएका थिए, जसलाई अहिले लगाउमा राखेर एकमुष्ट सुनुवाइ गर्न लागिएको हो ।

यसअघि जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। पछि केही अभियुक्तहरू उच्च अदालतको आदेशमा धरौटी र तारेखमा छुटे पनि कतिपय अझै कारागारमै छन् । साक्षीहरूको बकपत्र र म्याद तामेलीको प्रक्रिया सकिएपछि अब अदालतले मुद्दाको गहिराइमा पुगेर फैसला दिने चरणमा प्रवेश गरेको छ । विशेषगरी गत मङ्सिर २८ गते न्यायाधीश डा. दिवाकर भट्टको इजलासले प्रतिवादीहरूको नाममा म्याद जारी गरेपछि यो मुद्दाले पुनः गति लिएको हो ।

अदालतको विचाराधीन सूचीमा राजनीतिक दलका प्रभावशाली नेताहरू मात्र नभई शरणार्थी नेता टेकनाथ रिजाल र विभिन्न बिचौलियाहरूको समूह पनि रहेको छ । राज्य संयन्त्रकै मिलेमतोमा भएको यो संगठित अपराधको अन्तिम फैसलाले विधिको शासन र भ्रष्टाचारविरुद्धको लडाइँमा ठुलो अर्थ राख्ने विश्वास गरिएको छ । १८ जना पक्राउ परेको र अझै केही फरार रहेको यस जटिल प्रकरणमा आजदेखि सुरु हुने बहसले पीडितहरूलाई न्याय र दोषीलाई दण्डको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार