Logo

१२ माघ, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

सोमबार भएको आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्समा पुग्ने र विश्वकप खेल्ने सम्भावना समाप्त भएको हो । १४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालको ब्याटिङ सुरुदेखि नै धरमराएको थियो । नेपालले १३.५ ओभरमा ६८ रन जोड्दा ९ विकेट गुमाएको अवस्थामा खेल सकियो, जहाँ घाइते भएकी कप्तान इन्दु बर्मा मैदान फर्कन नसकेपछि नेपालले थप ब्याटिङ गर्न सकेन। नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ तथा रुबिना क्षेत्रीले १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रनको योगफल तयार पारेको थियो । नेपालले बलिङमा उत्कृष्ट सुरुवात गर्दै पावरप्लेमै ३ विकेट झारेर विपक्षीलाई ७९–६ को नाजुक स्थितिमा पुर्‍याए पनि फिनिसिङमा चुक्दा स्कटल्यान्डले पुनरागमन गर्ने मौका पायो । स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रनको महत्वपूर्ण इनिङ खेलिन् । नेपालका तर्फबाट मनीषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै ४ विकेट र रुबिना क्षेत्रीले ३ विकेट लिए पनि ब्याटिङको विफलताले टोलीलाई हारबाट जोगाउन सकेन ।

यो पराजयसँगै समूह ‘बी’  मा रहेको नेपाल एक जित र तीन हारका साथ २ अंकमा सीमित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले यसअघि जिम्बाबेलाई हराए पनि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो । नेपाल बाहिरिएसँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा प्रवेश गरेका छन् भने समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र अमेरिकाले अघिल्लो चरणको यात्रा तय गरेका छन् । सुपर सिक्सका शीर्ष चार टोलीले आगामी जुनमा इङ्गल्याण्डमा आयोजना हुने महिला टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।


सम्बन्धित समाचार
भर्खरै