Logo

१४ माघ, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द विप्लवलाई क्रान्तिकारी आन्दोलनको मूलधारमा आउन र यताउता नभड्किन सार्वजनिक अपिल गर्नुभएको छ ।

बुधबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विप्लव नेतृत्वको समूहलाई आत्मसमीक्षासहित एकता प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको हो । प्रचण्डले विगतमा समाजवादी मोर्चादेखि नै विप्लवसँग एकताका लागि गम्भीर संवाद भएको र एकपटक त एकता लगभग टुंगिएको स्मरण गर्नुभयो ।

‘प्रकाण्डजीले मलाई अंकमाल गरेर हामी एक भयौँ भन्नुभएको थियो, तर पछिल्लो समय जेनजी आन्दोलनको तुवालोभित्र उहाँहरू हराएजस्तो र नेतृत्व नै भुमरीमा परेर निसास्सिएजस्तो महसुस भइरहेको छ,’ प्रचण्डले भन्नुभयो । उहाँले विप्लव लगायतका नेताहरू अहिले वैचारिक अन्योलमा परेर भौँतारिरहेको टिप्पणी गर्दै वास्तविक घर (नेकपा) मै फर्कन ढिला नगर्न सुझाव दिनुभयो ।

राष्ट्रको स्वाधीनता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि छरिएर रहेका सबै शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नरहेको उल्लेख गर्दै प्रचण्डले विप्लवका लागि अझै पनि अवसरको ढोका खुल्ला रहेको बताउनुभयो । कमजोरी सच्याएर आउने हो भने आफूहरूले पुनः स्वागत गर्न तयार रहेको भन्दै उहाँले विप्लव पक्षलाई गम्भीर भएर सोच्न आग्रह गर्नुभयो ।


सम्बन्धित समाचार
भर्खरै