Logo

१५ माघ, वीरगञ्ज । बाराको परवानीपुरमा भएको आमाछोराको दोहोरो हत्या प्रकरणको रहस्य प्रहरीले सुल्झाएको छ। प्रहरी अनुसन्धानका क्रममा मृतक छोराकी श्रीमतीले नै योजनाबद्ध रूपमा आफ्नै श्रीमान् र सासुको हत्या गराएको खुलेको हो।

बुधबार मध्यराति २७ वर्षीय रामेश्वर महतो मण्डल र उनकी ४८ वर्षीया आमा सुमित्रा मण्डलको हत्या भएको थियो। अनुसन्धानमा रामेश्वरकी श्रीमती मनिताको योजनामा उक्त घटना भएको पुष्टि भएको प्रहरीले जनाएको छ। मनितालाई घटनापछि घरबाटै पक्राउ गरिएको थियो। प्रारम्भिक सोधपुछमा उनकै योजनामा हत्या भएको स्वीकारोक्ति खुलेको प्रहरीको भनाइ छ।

घटनामा मनिताकी २० वर्षीया नन्द रीना कुमारी मण्डल र ५४ वर्षीय ससुरा जगरुप महतो गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार उनीहरू आक्रमणको प्रतिकार गर्ने क्रममा घाइते भएका हुन्। दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले हत्या योजनाकार मनितासँगै उनको सहयोगीको आरोपमा प्रसौनी गाउँपालिका–७ बन्जरिया निवासी २७ वर्षीय धर्मेन्द्र महतोलाई पनि पक्राउ गरेको छ। धर्मेन्द्र केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए। उनलाई वीरगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा मनिता र धर्मेन्द्रबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। साथै, घटनामा धर्मेन्द्र बाहेक अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने प्रहरीको आशंका छ। धर्मेन्द्रको घर मनिताको माइती नजिकै रहेको बताइएको छ।

मनिता गत साउनदेखि घर छाडेर काठमाडौंमा बस्दै आएकी थिइन्। उनी माइती समेत नगई काठमाडौंमा बसेकी र उनका दुई छोरी भने घरमै रहेका थिए। मंसिरमा उनलाई परिवारले घर फर्काएको थियो।

प्रहरीका अनुसार हत्या गर्ने उद्देश्यले राति आएका प्रेमी र उनका सहयोगीलाई मनिताले पछाडिको ढोका खोलेर घरभित्र प्रवेश गराएको आशंका गरिएको छ। घटना भएपछि गाउँमा हल्ला फैलिँदा छिमेकीहरू पुग्दा घरभित्र दुई जनाको शव र दुई जना गम्भीर घाइते फेला परेका थिए भने मनिता भने सकुशल अवस्थामा थिइन्। उनका सहयोगीहरू भने फरार भइसकेका थिए।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो पनि पढनुस्:-

बारामा आमाछोराको विभत्स हत्या : बुवा र बहिनी गम्भीर घाइते, बुहारी नियन्त्र

बाराको परवानीपुरमा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या : दुईजना पक्राउ

बारामा आमा–छोराको हत्या प्रकरण : बुहारीसहित एक युवक पक्राउ


सम्बन्धित समाचार