Logo

१५माघ,धनुषा। मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले देशभर पछिल्लो समय देखिएको ‘जेनजी’ अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको छ।

विशेषगरी गत भदौमा भएको नवयुवा आन्दोलनपछि राजनीतिमा युवाको प्रत्यक्ष हस्तक्षेप बढेको देखिन्छ। त्यसको प्रभाव मधेस प्रदेशमा पनि अनुभूत भएको छ। यद्यपि जेनजी अभियानकर्मीहरूका अनुसार यो प्रतिनिधित्व पूर्ण रूपमा सन्तोषजनक भने छैन। उनीहरू भन्छन्, “सूचीमा केही युवा नाम देखिनु सकारात्मक संकेत हो, तर अझै पनि पहुँच र प्रभाव भएकाहरू नै प्राथमिकतामा परेको अनुभूति हुन्छ।”

यसअघि केही नयाँ तथा पुराना राजनीतिक दलहरूले समानुपातिकतर्फ सार्वजनिक गरेका उम्मेदवार सूचीमा पनि जेनजी आन्दोलनको भावना झल्किए पनि अधिकांश नामहरू राजनीतिक पहुँच भएकै व्यक्तिका थिए।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशबाट ५८ जना जेनजी पुस्ताका उम्मेदवार मैदानमा छन्। तीमध्ये दुई जना महिला र ५६ जना पुरुष छन्। ४१ जना स्वतन्त्र उम्मेदवार हुन् भने १२ वटा राजनीतिक दलबाट १७ जना जेनजी पुस्ताका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

संख्या सीमित भए पनि मधेसको स्थानीय राजनीतिक इतिहासका हिसाबले यो सहभागितालाई महत्त्वपूर्ण मानिएको छ। उज्यालो नेपाल पार्टी र जनमत पार्टीले तीन–तीन जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएका छन् भने श्रम संस्कृति पार्टीले दुई जना उम्मेदवार खडा गरेको छ।

त्यस्तै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), आम जनता पार्टी (एकल चुनाव चिह्न), जनअधिकार पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टीले एक–एक जना जेनजी पुस्ताका उम्मेदवारलाई अघि सारेका छन्।

उज्यालो नेपाल पार्टीले सिरहा क्षेत्र नम्बर ३ बाट २६ वर्षीय श्रवण पासवान, महोत्तरी क्षेत्र नम्बर १ बाट २८ वर्षीय मनोजकुमार गुप्ता र रौतहट क्षेत्र नम्बर २ बाट २५ वर्षीय रामाकान्तप्रसाद पटेललाई उम्मेदवार बनाएको छ।
जनमत पार्टीले महोत्तरी क्षेत्र नम्बर १ बाट २७ वर्षीय वीरेन्द्र महतो, रौतहट क्षेत्र नम्बर २ बाट २८ वर्षीय सोनु कुशवाहा र रौतहट क्षेत्र नम्बर ४ बाट २८ वर्षीय राम कल्याण राउतलाई उम्मेदवार बनाएको छ।

श्रम संस्कृति पार्टीले सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट २६ वर्षीय पंकजकुमार ठाकुर र पर्सा क्षेत्र नम्बर १ बाट २८ वर्षीय वसिम शेषलाई उम्मेदवार बनाएको छ।

नेकपा एमालेले सर्लाही क्षेत्र नम्बर ४ बाट पूर्वसांसद शिवपुजन यादवका छोरा २७ वर्षीय अमनिशकुमार यादवलाई उम्मेदवार बनाएको छ। सो क्षेत्रमा नेपाली कांग्रेसका नेता गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्व प्रतिनिधिसभा सदस्य अमरेश सिंह पनि प्रतिस्पर्धामा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री भइसकेका २८ वर्षीय बब्लु गुप्तालाई सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ। नेकपाले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट २७ वर्षीय अजय कुशवाहालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले सप्तरी क्षेत्र नम्बर २ बाट २७ वर्षीय अजयकुमार दासलाई उम्मेदवार बनाएको छ। नेपाल मजदुर किसान पार्टीले सोही क्षेत्रबाट निलम कुमारी यादवलाई उम्मेदवार बनाएको छ।

समाजशास्त्री नीलबहादुर लुम्रेका अनुसार यी युवा उम्मेदवारहरूको साझा विशेषता भनेको पुराना राजनीतिक शैलीप्रतिको असन्तुष्टि र नयाँ सोचसहितको हस्तक्षेप हो। उनीहरू सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासलाई प्रमुख एजेन्डा बनाएर मतदातासमक्ष पुगिरहेका छन्। सामाजिक सञ्जाल, प्रत्यक्ष भेटघाट र सामुदायिक छलफलमार्फत मतदातासँग सम्पर्कमा रहनु परम्परागत राजनीतिभन्दा फरक अभ्यास भएको लुम्रेको भनाइ छ।

राजनीतिक विश्लेषक शंकर महतोका अनुसार जेनजी उम्मेदवारहरूको उपस्थिति जित–हारभन्दा पनि दीर्घकालीन रूपमा राजनीतिक संस्कार परिवर्तनको संकेत हो। “यी युवाले जिते वा नजिते पनि उनीहरूको सहभागिताले आगामी निर्वाचनमा अझ बढी युवालाई राजनीतिमा आउन प्रेरित गर्नेछ,” उनी भन्छन्।


सम्बन्धित समाचार
भर्खरै