१६ माघ, बारा । बारा जिल्लाको परवानीपुर गाउँपालिकामा भएको आमा–छोराको विभत्स हत्याकाण्डको रहस्य खुल्दै जाँदा एउटा डरलाग्दो पारिवारिक षड्यन्त्र बाहिर आएको छ ।
प्रहरी अनुसन्धानका अनुसार १४ माघको मध्यरातमा भएको ४६ वर्षीया सुमित्रा मण्डल र उनका ३१ वर्षीय छोरा राम ईश्वर मण्डलको हत्यामा आफ्नै बुहारी २३ वर्षीया मनिता देवी मण्डलको मुख्य योजना रहेको देखिएको छ । विवाहेत्तर सम्बन्धमा रहेकी मनिताले आफ्नो प्रेममा बाधक बनेको भन्दै दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर यो बीभत्स हत्याकाण्ड मच्चाएको जिल्ला प्रहरी कार्यालय बाराले निष्कर्ष निकालेको छ ।
प्रहरीका अनुसार मनिताको बाराकै प्रसौनीका २७ वर्षीय धर्मेन्द्र महतो धानुकसँग प्रेम सम्बन्ध रहेको र उक्त कुरा परिवारमा थाहा भएपछि घरमा तीव्र विवाद सुरु भएको थियो । बदला लिने उद्देश्यले मनिताले दुबईमा रहेका धर्मेन्द्रलाई ११ माघमा काठमाडौँ बोलाएर गोप्य रूपमा भेटघाट गरी हत्याको योजना बुनेकी थिइन् । योजनाबद्ध रूपमा १४ माघको राति २ बजे घरमा प्रवेश गरी उनीहरूले सुमित्रा र राम ईश्वरको चक्कु प्रहार गरी हत्या गरेका थिए भने प्रतिकार गर्न खोज्ने ससुरा जगरुप र नन्द रिना कुमारीलाई गम्भीर घाइते बनाएका थिए । घाइतेहरूको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ ।
घटनालाई अपरिचित समूहको आक्रमण देखाएर उम्किने प्रयास गरे पनि प्रहरीको सूक्ष्म अनुसन्धान र मनिताको शङ्कास्पद व्यवहारले अन्ततः दोषीलाई कानूनी फन्दामा पुर्याएको छ । प्रहरीले मनिता र उनका प्रेमी धर्मेन्द्र दुवैलाई पक्राउ गरी कर्तव्य ज्यानको कसुरमा अदालतबाट म्याद लिएर थप अनुसन्धान अगाडि बढाएको छ । सामाजिक र पारिवारिक मूल्य–मान्यतालाई तिलाञ्जली दिँदै वैदेशिक रोजगारीबाट फर्केर गरिएको यो क्रूर घटनाले अहिले मधेस प्रदेशका साथै देशभर सनसनी फैलाएको छ ।
















