१६ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले विजयी हुने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पोखरेलले सामाजिक सञ्जालमा फिजाइएका हल्ला र चर्चाले चुनावी नतिजामा कुनै तात्विक असर नपार्ने स्पष्ट पारे । झापाका सचेत मतदाताहरू पपुलिजम (लोकप्रियतावाद) र एनार्किजम (अराजकतावाद) को पछाडि लागेर राजनीतिक अस्थिरता निम्त्याउने पक्षमा नरहेको उल्लेख गर्दै उनले एमालेको पकड क्षेत्रमा कुनै जोखिम नरहेको जिकिर गरेका छन् ।
अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताले चुनौती दिइरहेका बेला पोखरेलको यो अभिव्यक्ति आएको हो । उनले बाहिर देखिएको चुनावी माहोल र सामाजिक सञ्जालको सक्रियताले सामान्य प्रभाव पारेको स्वीकार गरे तापनि पार्टीको आन्तरिक विश्लेषणले ओलीलाई सुरक्षित स्थानमा देखाएको बताए । पुराना र स्थापित दलहरूलाई विस्थापित गर्ने भन्दै आएका नयाँ शक्तिहरूप्रति लक्षित गर्दै उनले जनताले विकास र समृद्धिको नेतृत्व गर्ने पार्टीलाई नै रोज्ने विश्वास व्यक्त गरेका थिए ।
आफ्नो गृहजिल्ला दाङको चुनावी सन्दर्भमा पनि पोखरेलले यस पटक जित निकाल्ने दाबी प्रस्तुत गरे । अघिल्लो निर्वाचनमा तत्कालीन राजनीतिक गठबन्धनका कारण झिनो मतान्तरले पराजित हुनुपरेको स्मरण गर्दै उनले यस पटक परिस्थिति एमालेको अनुकूल रहेको बताएका छन् । महासचिव पोखरेलले देशव्यापी रूपमा एमालेको जनलहर बढेको र मतदाताहरूले सुदृढ संगठन भएको पार्टीलाई नै सत्ताको साँचो सुम्पिने दाबी गर्दै कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ चुनावी मैदानमा खट्न आग्रह गरेका छन् ।
















