Logo

१६ माघ, सिरहा। सिरहामा अज्ञात व्यक्तिले गोली हानी एक जनाको हत्या गरेका छन्। सिरहा नगरपालिका–१ निवासी ४५ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको हो।

स्थानीयका अनुसार यादव सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोलाको किनार नजिक आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले उनीमाथि गोली चलाएका थिए। गोली लागेपछि यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनाबारे जानकारी दिँदै वडा नम्बर ७ का अध्यक्ष महेश कुमार यादवले खेत जोत्न गएका बेला प्रेमनाथ यादवमाथि गोली प्रहार गरी हत्या गरिएको खबर प्राप्त भएको बताए। “मैले पनि कसैले गोली दागेर हत्या गरेको भन्ने कुरा सुनेको छु। घटनाबारे थप बुझ्दै छु। अस्पतालतर्फ जाँदै छु,” उनले भने।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले प्रारम्भिक रूपमा घटनास्थलको अवस्था हेर्दा गोली हानी हत्या गरिएको देखिएको जानकारी दिए। तर कसले र किन गोली हानेको हो भन्ने विषयमा हालसम्म केही खुल्न नसकेको उनले बताए।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई आवश्यक मुचुल्का उठाउने कार्य गरिरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


सम्बन्धित समाचार