Logo

१७ माघ, काठमाडौँ । बजारमा उपभोग्य वस्तुको मूल्य आकाशिएसँगै आम उपभोक्ताको भान्छा थप महँगो बन्दै गएको छ। पछिल्लो एक सातामै भटमास र सूर्यमुखी तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँसम्मले वृद्धि भएपछि उपभोक्ता र साना व्यवसायी मारमा परेका छन्। नेपाल खुद्रा व्यापार संघका अनुसार माघको पहिलो सातासम्म प्रतिलिटर २४० रुपैयाँमा बिक्री भइरहेको तेल अहिले २९० रुपैयाँसम्म पुगेको छ।

दिनहुँ बढ्दो मूल्यले गर्दा उपभोक्तासँग सिधै जोडिने खुद्रा व्यवसायीहरू समस्यामा परेका छन्। संघका कोषाध्यक्ष वसन्त महर्जनले मूल्यमा देखिएको यो उछालले कारोबार गर्नै कठिन भएको गुनासो गरे । यस्तै, वरिष्ठ उपाध्यक्ष नरेश खड्गीले थोक बजारमा बढेको मूल्य तिर्नुपर्ने र उता महँगीको मारमा परेका उपभोक्ताको आक्रोश पनि सहनुपर्ने अवस्था रहेको बताए। “एकातिर उपभोक्ताको गुनासो छ भने अर्कोतिर सरकारी अनुगमनकारी निकायले पनि साना पसललाई नै निसाना बनाउने गरेको छ,” उनले भने ।

मूल्य बढ्नुको मुख्य कारण भारततर्फको अनियन्त्रित निर्यात र अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढ्नुलाई मानिएको छ। नेपाल खाद्य किराना तथा थोक व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार भारतमा खानेतेल महँगो भएपछि नेपाली उद्योगीहरूले यहाँका लागि उत्पादन गरिएको तेल धमाधम भारत निकासी गर्न थालेका छन् । खुला बजारमा माग बढेपछि मूल्य बढ्नु स्वभाविक भएको तर्क थोक व्यवसायीहरूको छ । यता उद्योगीहरूले भने अमेरिकी डलरको भाउ बढ्दा कच्चा पदार्थ महँगो परेकाले मूल्य समायोजन गर्नुपरेको दाबी गरेका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा मात्रै नेपालबाट ६० अर्ब रुपैयाँ बराबरको भटमास र सूर्यमुखी तेल निर्यात भएको छ । स्वदेशमा पर्याप्त उत्पादन हुँदाहुँदै पनि नाफाका लागि उद्योगीले विदेश निर्यात गर्दा नेपाली उपभोक्ता महँगीको चपेटामा परेको अधिकारकर्मीहरूको ठहर छ। आफ्नै देशमा उत्पादित वस्तुको मूल्य नियन्त्रण गर्न सरकारले ठोस कदम चाल्नुपर्ने माग उपभोक्ताहरूले गरेका छन् ।


सम्बन्धित समाचार