Logo

२५ चैत, रौतहट । जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले जिल्लाको सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने भएको छ । सुख्खा मौसममा आगलागीको घटना वृद्धि भएसँगै समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा आगलागीको घटनाप्रति सर्वसाधारणमा सजगता अपनाउन चेतना अभिवृद्धि गर्ने, वारुणयन्त्र खरिदका लागि सबै पालिकालाई अनुरोध गर्ने, एउटा पालिकाले खरिद तथा सञ्चालन गर्न सक्षम नभए दुईवटा पालिकालाई मिलाएर खरिद गर्न पहल गर्ने, वारुणयन्त्र खरिद नहुञ्जेलसम्म पानी भरिएको ट्याङ्कर तयारी अवस्थामा राख्न सबै पालिकामा अनुरोध गर्ने निर्णय भएको प्रजिअ मिश्रले जानकारी दिनुभयो ।

बैठकमा गौर नगरपालिकाका प्रमुख शम्भु साहले आगलागी हुँदा सर्वसाधारण आगो नियन्त्रण गर्न तम्सिनु भन्दा मोबाइलमा भिडियो बनाउने र रमिता हेरेर बस्ने गरेको कारण धनजनको बढी क्षति हुने गरेको बताउनुभयो । १८ वटा पालिका रहेको रौतहटमा अहिले गौर र चन्द्रपुर नगरपालिकामा मात्र वारुणयन्त्र छ ।

यसैबीच रौतहट उद्योग वाणिज्य सङ्घका अध्यक्ष पण्डितप्रसाद जयसवालले समयमा आगो नियन्त्रण गर्न दुई वटा दमकलले मात्र सम्भव नभएको बताउनुहुँदै सबै पालिकामा पानी भर्ने ठाउँ र वारुणयन्त्र सहजरुपमा गुड्ने सडकको व्यवस्थापन गर्न सबै पालिका प्रमुखलाई अनुरोध गर्नु भएको छ ।

 


सम्बन्धित समाचार